काममा चरम लापरबाहीपछि मध्यपहाडी राजमार्गको सित्खा खोला पुल निर्माणको ठेक्का रद्द
काठमाडौं । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, सिख्खा, रामेछापले काममा चरम लापरबाही गर्ने ठेकेदार कम्पनीसँगको सम्झौता रद्द गरेको छ । लामो समयदेखि निर्माण कार्य अलपत्र पारेको र सम्पर्कविहीन भएको भन्दै कार्यालयले ‘खाम्पाचे–नील जेभी’ सँगको ठेक्का तोडेको हो ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै खुर्कोट–रसेलेघाट–राकाथुम सडक खण्डअन्तर्गत सित्खा खोलामा निर्माणाधीन ३५ मिटर लामो प्रि–स्ट्रेस्ड पुलको ठेक्का सार्वजनिक खरिद ऐन, २०६३ अनुसार रद्द गरिएको जनाएको छ।
योजना कार्यालयका अनुसार निर्माण व्यवसायीलाई पटक–पटक मौखिक तथा लिखित रूपमा काम अघि बढाउन आग्रह गरिएको थियो। साथै गत फागुन १० गते सार्वजनिक सूचनामार्फत स्पष्टीकरणसमेत मागिए पनि ठेकेदार कम्पनीबाट कुनै प्रतिक्रिया नआएपछि सम्झौता अन्त्य गर्ने निर्णय गरिएको हो।
सम्झौताअनुसार काम नगर्नु, निर्माण स्थल अलपत्र छाड्नु तथा ‘फन्डामेन्टल ब्रीच अफ कन्ट्रयाक्ट’ अर्थात् सम्झौताको गम्भीर उल्लंघन गरेको निष्कर्षसहित ठेक्का रद्द गरिएको योजना प्रमुखले बताएका छन्।
ठेक्का रद्द भएसँगै कार्यालयले हालसम्म सम्पन्न भएको कामको नापजाँच तथा वित्तीय फरफारकका लागि निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। तोकिएको अवधिमा उपस्थित नभए नियमानुसार बाँकी प्रक्रिया एकतर्फी रूपमा अघि बढाइने चेतावनीसमेत दिइएको छ।
योजना कार्यालयले अब प्रचलित कानुनअनुसार बाँकी निर्माण कार्य अघि बढाउने तथा ठेक्का रद्दपछिका आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया सुरु गरिने जनाएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया