Techie IT
KTM Post
बुधबार, २४ असार, २०८३

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षक बनेका गुन्जेश्वर मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा सिरहाका शिक्षक गुन्जेश्वर मण्डलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार मण्डल सिरहाको धनगढीमाई नगरपालिका–स्थित जनता माध्यमिक विद्यालय, वेतहा भवानीपुरमा माध्यमिक तह तृतीय श्रेणीका शिक्षकका रूपमा कार्यरत छन् । उनले शिक्षक नियुक्तिका क्रममा पेस गरेका शैक्षिक प्रमाणपत्र झुट्टा रहेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

अनुसन्धानका क्रममा मण्डलले भारतको बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल, पटना तथा चौधरी चरण सिंह विश्वविद्यालय, मेरठबाट क्रमशः आईएससी र विज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरेको दाबी गर्दै प्रमाणपत्र पेस गरेका थिए । तर ती प्रमाणपत्रहरू नक्कली रहेको पुष्टि भएको अख्तियारको भनाइ छ ।

नक्कली प्रमाणपत्रकै आधारमा शिक्षक पदमा नियुक्ति लिई तलब, सुविधा तथा सरकारी ओहदा उपभोग गरेको देखिएकाले मण्डलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अनुसार कारबाहीको माग गरिएको छ ।

आयोगले बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गर्दै मण्डललाई कैद र जरिवाना सजायको माग गरेको जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट