Techie IT
KTM Post
शुक्रबार, २६ असार, २०८३

पाँच प्रदेशमा भारी वर्षा र तराईमा हावाहुरीको सम्भावना


काठमाडौं। देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले बिहीबार अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले केही प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी क्षेत्रमा सरदर स्थानभन्दा केही दक्षिणतर्फ तथा पश्चिमी क्षेत्रमा सरदर स्थानकै आसपासमा रहेको छ। यसकै प्रभावका कारण बिहानदेखि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।त्यस्तै, कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

विशेषगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र गेग्रान बहावजस्ता जोखिमप्रति सचेत रहन मौसमविद्ले आग्रह गरेका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा दिउँसो हावाहुरी चल्न सक्ने सम्भावना पनि रहेको छ।

महाशाखाका अनुसार रातिको समयमा पनि देशभर अधिकांश स्थानमा बदली कायम रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, मधेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको छ। रातिको समयमा मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने तथा मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट