निर्माण क्षेत्रको गाँठो फुकाउन प्रधानमन्त्रीको अग्रसरता: व्यवसायीहरूसँग सिंहदरबारमा विशेष संवाद हुँदै
काठमाडाैं। प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या, त्यसको दीर्घकालीन समाधान, निर्माणका व्यावहारिक चुनौती तथा सरकारले तत्काल गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीहरूसँग विशेष संवाद गर्दै छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान साढे ११ बजे तय गरिएको यस छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारी र सल्लाहकारहरूको सहभागिता रहनेछ।बैठकमा महासंघका तर्फबाट अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवं विशिष्ट सल्लाहकार जयराम लामिछाने सहभागी हुनेछन्।
देशका विभिन्न राष्ट्रिय गौरवका आयोजना, पूर्वाधार निर्माण र विकास बजेट खर्चको अवस्था सुस्त देखिएका बेला प्रधानमन्त्री शाह आफैँले निर्माण व्यवसायीहरूलाई छलफलका लागि बोलाएका हुन्।निर्माण व्यवसायीहरूले लामो समयदेखि सरकारबाट पाउनुपर्ने अर्बौं रुपैयाँ बराबरको भुक्तानी (रकम) रोकिएको गुनासो गर्दै आएका छन्। यस
संवादमा व्यवसायीहरूले सरकारका तर्फबाट समयमै भुक्तानी नहुँदा बजारमा तरलता अभाव भएको, कतिपय आयोजनाहरू ठप्प बनेको र उपभोग गरिएका सामग्रीको पैसा तिर्न नसक्दा आपूर्ति शृङ्खला नै प्रभावित भएको विषयलाई मुख्य रूपमा उठाउने तयारी गरेका छन्।
साथै, सार्वजनिक खरिद नियमावलीमा रहेका कतिपय अव्यावहारिक प्रावधानका कारण म्याद थप र ठेक्का व्यवस्थापनमा परेका गाँठोहरू फुकाउन प्रधानमन्त्रीसमक्ष नीतिगत सहजीकरणको माग गरिनेछ।
प्रधानमन्त्री शाहले भने निर्माण कार्यमा हुने ढिलासुस्ती, गुणस्तरहीन काम, र ठेकेदारहरूले समयमै काम नसकी आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य कसरी गर्ने भन्नेबारे व्यवसायीहरूको प्रतिबद्धता खोज्नेछन्।
सरकारले निर्माण क्षेत्रलाई गतिशील बनाउन र रोकिएका भुक्तानी प्रक्रियालाई पारदर्शी ढंगले अघि बढाउन चाहे पनि व्यवसायीहरूले तोकिएको समयमै जवाफदेही भएर काम गर्नुपर्ने प्रधानमन्त्रीको अडान रहने बुझिएको छ।
राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने भएकाले दुवै पक्षबीचको यो संवादलाई निकासमुखी र निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया