पूर्वराजदूतहरूको सरकारलाई आग्रह– ‘एक–चीन नीतिप्रतिको प्रतिबद्धता दृढतापूर्वक पालना गरियोस्’
काठमाडौं । चीनका लागि नेपालका सात जना पूर्व राजदूतहरूले सरकारले अवलम्बन गर्दै आएको एक–चीन नीतिप्रतिको प्रतिबद्धतालाई दृढतापूर्वक पालना गर्न सरकारसँग आग्रह गरेका छन्।
चीनका लागि नेपालका पूर्वराजदूतहरू राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पाैडेल, विष्णु पुकार श्रेष्ठ र कृष्ण प्रसाद ओलीले बिहीबार संयुक्त अपिल जारी गर्दै यस्ताे बताएका हुन् ।
उनीहरूले २२ असारमा नागार्जुन नगरपालिका–२ स्थित नामग्याल विद्यालयमा १४औँ दलाई लामाको ९९औँ जन्मदिन मनाइएको र उक्त कार्यक्रममा विदेशी नियोगका प्रतिनिधिहरूको समेत सहभागिता रहेको भन्ने समाचारप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।
उनीहरूले नेपालले लामो समयदेखि एक–चीन नीति अवलम्बन गर्दै आएको, नेपालको भूमिबाट कुनै पनि मित्र राष्ट्रविरुद्ध प्रतिकूल असर पर्ने गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै आएको तथा हालै परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणका क्रममा समेत सो प्रतिबद्धता दोहोर्याइएको स्मरण गराएका छन्। यस्ता घटनाले नेपालको परराष्ट्र नीतिमा कुनै परिवर्तन आएको हो भन्ने प्रश्न उठेको उनीहरूको भनाइ छ।
विज्ञप्तिमा उक्त कार्यक्रम सरकारको सहमतिमा भएको भए त्यसले नेपाल–चीन सम्बन्धको सुरुदेखि कायम रहेको एक–चीन नीतिको मर्मविपरीत हुने तथा नेपालले अवलम्बन गर्दै आएको भू–राजनीतिक सन्तुलनमा समेत नकारात्मक असर पर्न सक्ने उल्लेख गरिएको छ।
पूर्व राजदूतहरूले यस्ता गतिविधि नेपालको स्थायित्व, विकास र स्वतन्त्रताका लागि प्रत्युत्पादक हुन सक्ने भन्दै नेपाल सरकारसहित सबै सरोकारवालालाई सतर्क र जिम्मेवार बन्न आग्रह गरेका छन्। साथै भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिने सुनिश्चितता गर्न र छिमेकी मुलुकसँगको सम्बन्धका संवेदनशील पक्षमा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया