दासढुंगामा मदन भण्डारी पार्क निर्माण अन्तिम चरणमा, स्मृति संरचना पर्यटकका लागि आकर्षण
चितवन। चितवनको भरतपुर महानगरपालिका–१९ स्थित ऐतिहासिक दासढुंगामा नेकपा (एमाले) का तत्कालीन महासचिव तथा जननेता मदन भण्डारीको स्मृतिमा निर्माण भइरहेको ‘मदन भण्डारी पार्क’ अन्तिम चरणमा पुगेको छ।
मदन भण्डारी र जीवराज आश्रितको निधन भएको ऐतिहासिक स्थललाई संरक्षण गर्दै त्यसलाई राजनीतिक इतिहास र पर्यटनसँग जोड्ने उद्देश्यले पार्क निर्माण गरिएको हो। पार्क सञ्चालनमा आएपछि दासढुंगा क्षेत्रलाई ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
वि.सं. २०५० जेठ ३ गते मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रित सवार जीप दासढुंगाबाट त्रिशूली नदीमा खसेको थियो। उक्त दुर्घटनामा दुवै नेताको निधन भएको थियो। नेपालको राजनीतिक इतिहासमा निकै चर्चित बनेको उक्त घटनालाई स्मरणीय बनाउँदै नयाँ पुस्तालाई इतिहाससँग जोड्ने उद्देश्यले पार्क निर्माण अघि बढाइएको हो।पार्क निर्माणमा संलग्न मधु गुरुङका अनुसार दासढुंगालाई व्यवस्थित स्मृति स्थलका साथै पर्यटकीय आकर्षणका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ। उनका अनुसार यसअघि यहाँ आउने आगन्तुकका लागि आवश्यक सुविधा अभाव रहेकाले त्यसलाई सुधार गर्दै पर्यटकमैत्री संरचनाहरू निर्माण गरिएको हो।
मदन भण्डारी फाउण्डेसन पार्क निर्माण समितिका अध्यक्ष नारायणकुमार मगरले करिब साढे दुई महिनामा पार्कको मुख्य निर्माण कार्य सम्पन्न भएको जानकारी दिए। उनका अनुसार केही भुक्तानी प्रक्रिया र सामान्य फिनिसिङका काम बाँकी रहे पनि मुख्य संरचनाहरू तयार भइसकेका छन्।
उनले पार्क निर्माणमा करिब ४१ लाख रुपैयाँ खर्च भएको र उक्त बजेट प्रदेश सरकारबाट विनियोजन गरिएको बताए।पार्कभित्र एउटा पुल, दुईवटा गोलघर, कम्पाउन्ड, पानी ट्याङ्की, शौचालय, फूल अर्पण गर्ने स्थान तथा कार्यालय भवन निर्माण गरिएको छ। कार्यालय भवनको केही काम बाँकी रहे पनि अन्य अधिकांश संरचना निर्माण सम्पन्न भएको अध्यक्ष मगरले जानकारी दिए।
पार्कमा आउने आगन्तुकको सहज आवतजावतका लागि नारायणी नदी किनारसम्म पुग्ने सिँढी निर्माण गरिएको छ। साथै मदन भण्डारी र जीवराज आश्रितको सालिकसहित विभिन्न स्मृति संरचनासमेत स्थापना गरिएको छ।
अध्यक्ष मगरका अनुसार यसअघि सामान्य अवस्थामा रहेको दासढुंगा क्षेत्रलाई अहिले हरियाली, दुबो रोपाइँ, सौन्दर्यीकरण तथा अन्य पूर्वाधार विकासमार्फत आकर्षक सार्वजनिक स्थलका रूपमा रूपान्तरण गरिएको छ।उनले पार्कले दासढुंगालाई राजनीतिक इतिहास, अध्ययन–अनुसन्धान तथा आन्तरिक पर्यटनसँग जोड्ने विश्वास व्यक्त गर्दै यसबाट स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै चितवनको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको बताए।
स्थानीयवासीले पनि दासढुंगा केवल दुर्घटनास्थल मात्र नभई नेपालको राजनीतिक इतिहाससँग जोडिएको महत्वपूर्ण स्थल भएकाले पार्क निर्माणले यसको ऐतिहासिक पहिचान अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।जनताको बहुदलीय जनवाद (जबज) का प्रतिपादकका रूपमा परिचित मदन भण्डारीको योगदानलाई स्मरण गर्दै निर्माण गरिएको यो पार्क भविष्यमा राजनीतिक अध्ययन, ऐतिहासिक अवलोकन र पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया