काठमाडौं महानगरको राजस्व ११ अर्ब ३४ करोड, घरजग्गा दर्ता र शिक्षा क्षेत्रले लक्ष्य नाघ्यो
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को असार २४ गतेसम्म ११ अर्ब ३४ करोड १४ लाख ८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम महानगरले अनुमान गरेको कुल राजस्व लक्ष्यको ७५.३६ प्रतिशत हो।
महानगरको राजस्व विभागका अनुसार चालु आवका लागि १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तय गरिएको थियो।
आन्तरिक आयतर्फ १० अर्ब १२ करोड ६४ लाख रुपैयाँ उठाउने लक्ष्य राखिए पनि हालसम्म ५ अर्ब ९९ करोड ५३ लाख रुपैयाँ मात्र संकलन भएको छ, जुन लक्ष्यको ५९.२० प्रतिशत हो।
यद्यपि, बाँडफाँटबाट प्राप्त हुने राजस्व र अनुदानतर्फ महानगरले लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ। बाँडफाँटबाट २ अर्ब ५१ करोड १० लाख २५ हजार रुपैयाँ उठाउने लक्ष्य रहेकामा २ अर्ब ६९ करोड ७६ लाख ६६ हजार ८१३ रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको १०७.४३ प्रतिशत हो।
त्यस्तै, आन्तरिक अनुदानतर्फ २ अर्ब ४७ करोड ६९ लाख रुपैयाँको लक्ष्य राखिएकोमा असार २४ गतेसम्म २ अर्ब ६९ करोड ७६ लाख ६६ हजार रुपैयाँ प्राप्त भएको छ। यो लक्ष्यको १०८.९१ प्रतिशत हो।
राजस्वका विभिन्न शीर्षकमध्ये घरजग्गा रजिस्ट्रेशन दस्तुरबाट सबैभन्दा उल्लेखनीय प्रगति देखिएको छ। १ अर्ब ६४ करोड २५ लाख ७५ हजार रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा २ अर्ब ९ करोड २५ लाख २२ हजार ८६४ रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको १२७.३९ प्रतिशत हो।
सम्पत्ति करबाट १ अर्ब ९ करोड ९२ लाख रुपैयाँ राजस्व उठेको छ। यस शीर्षकमा महानगरले १ अर्ब ७० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो।
मालपोत करतर्फ भने प्रगति अपेक्षाकृत कम देखिएको छ। २ करोड ५० लाख रुपैयाँको लक्ष्य रहेकामा १ करोड १८ लाख रुपैयाँ मात्र उठेको छ, जुन लक्ष्यको ४७.२५ प्रतिशत हो।
घरबहाल करबाट ६ अर्ब २५ करोड रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा हालसम्म ३ अर्ब ४९ करोड ८६ लाख ९ हजार ५९७ रुपैयाँ संकलन भएको छ। यो लक्ष्यको ५५.९८ प्रतिशत हो।
शिक्षा क्षेत्रबाट भने अपेक्षाभन्दा धेरै राजस्व संकलन भएको छ। १० लाख रुपैयाँ उठाउने लक्ष्य रहेकामा १ करोड २५ लाख ४ हजार रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको १,२५०.४० प्रतिशत हो।
पर्यटन शुल्कबाट २० करोड रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा १८ करोड ७० लाख रुपैयाँ अर्थात् लक्ष्यको ९३.५३ प्रतिशत राजस्व संकलन भएको महानगरले जनाएको छ।
बाँडफाँटबाट प्राप्त हुने सवारी साधन करबाट २० करोड ६२ लाख रुपैयाँ अर्थात् लक्ष्यको ५१.६८ प्रतिशत राजस्व उठेको छ। मनोरञ्जन करबाट ३ करोड रुपैयाँको लक्ष्यमध्ये २ करोड २४ लाख रुपैयाँ संकलन भएको छ।
यस्तै, बाँडफाँटबाट प्राप्त विज्ञापन करबाट २ करोड ३३ लाख रुपैयाँ, समानीकरण अनुदानबाट ७३ करोड ८९ लाख रुपैयाँ र वन रोयल्टीबाट ४३ लाख रुपैयाँ प्राप्त भएको छ।
सेवा शुल्कतर्फ नक्सापास दस्तुरबाट ३८ करोड ७५ लाख रुपैयाँ, सिफारिस दस्तुरबाट ९ करोड ४९ लाख रुपैयाँ, व्यक्तिगत घटना दर्ता दस्तुरबाट १२ लाख ७ हजार रुपैयाँ तथा नाता प्रमाणित दस्तुरबाट पनि १२ लाख ७ हजार रुपैयाँ राजस्व संकलन भएको महानगरपालिकाले जनाएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया