राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद र सहकारी संशोधनसहित चार विधेयक प्रमाणीकरण
काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनबाट पारित भई आएका विभिन्न चारवटा महत्त्वपूर्ण विधेयकहरू प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयकहरू बिहीबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रमाणीकरण भएका विधेयकहरूमा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ रहेका छन्।राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी प्रेस विज्ञप्तिअनुसार संघीय संसद्को बैठकबाट पारित भएका यी विधेयकहरू बिहीबार नै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिएका थिए।
राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अब यी चारवटै नयाँ कानुन परिमार्जित रूपमा लागू हुने मार्गप्रशस्त भएको छ।विशेषगरी सार्वजनिक खरिद प्रक्रियालाई व्यवस्थित बनाउन, वित्तीय अनुशासन कायम राख्दै सम्पत्ति शुद्धीकरण निवारण गर्न तथा सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्याहरूलाई कानुनी रूपमा सम्बोधन गर्न यी संशोधन विधेयकहरूलाई महत्त्वपूर्ण मानिएको छ।
क्याटेगोरी : राजनीति












प्रतिक्रिया