गणेश नेपालीको आत्मदाह प्रयासपछि दाजुको दाबी: ‘महानगर र ट्राफिकको दबाबले यस्तो अवस्था आयो’
काठमाडौं । आत्मदाह प्रयास गरेका गणेश नेपालीका दाजुले महानगरपालिका र ट्राफिक प्रहरीको निरन्तर कारबाही तथा मानसिक दबाबका कारण आफ्ना भाइ यस्तो चरम कदम चाल्न पुगेको दाबी गरेका छन्।
अस्पतालमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “म अस्पताल आइपुग्दा भाइले आमाबुबाको ख्याल राख्न भन्नुभयो। उहाँले यो अवस्था आउनुको मुख्य कारण महानगर र ट्राफिक प्रहरी भएको बताउनुभयो।”
परिवारका अनुसार गणेशको आर्थिक अवस्था कमजोर थियो। कृषि जेटिए (JTA) अध्ययन पूरा गरे पनि रोजगारी नपाएपछि उनले मुगुस्थित पैतृक जग्गाको लालपुर्जा बैंकमा धितो राखेर करिब तीन महिनाअघि किस्ताबन्दीमा मोटरसाइकल खरिद गरेका थिए। उक्त मोटरसाइकल नै परिवारको आयआर्जनको प्रमुख माध्यम बनेको बताइएको छ।
परिवारको दाबीअनुसार महानगरपालिका र ट्राफिक प्रहरीको बारम्बारको कारबाही तथा त्यसबाट सिर्जित मानसिक र आर्थिक दबाबका कारण गणेश निराश बनेका थिए र अन्ततः आत्मदाह प्रयासजस्तो दुःखद कदम चाले।
यद्यपि, महानगरपालिका र ट्राफिक प्रहरीको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन। घटनाबारे सम्बन्धित निकायको धारणा आउन बाँकी रहेको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया