गणेश नेपाली मृत्यु प्रकरण : माइतीघरमा प्रदर्शन, दोषीमाथि कारबाहीको माग
काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर काठमाडौंको माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घटनामा राज्यको भूमिका रहेको आरोप लगाउँदै दोषीमाथि कारबाहीको माग गरेका छन्।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो।
नेपालीको निधनपछि आक्रोशित युवाहरू माइतीघरमा भेला भएर प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले ‘राज्य आतंक बन्द गर’ र ‘हत्यारा सरकार मुर्दावाद’ लगायतका नारा लगाएका थिए।
‘बालेन तिम्रो झिकै झिकै माया, गणेशको आत्मदाह थियो’ लगायतका नारासहित युवाहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले ‘राज्य आतंक मुर्दावाद’, ‘गरिब र युवाका लागि ठाउँ छैन ?’, ‘हत्यारा सरकार मुर्दावाद’ जस्ता नारासहितका प्लेकार्ड बोकेका थिए।
नेपालीको मृत्यु भएपछि सरकारको नागरिकप्रतिको दृष्टिकोण र नगर प्रहरीको व्यवहारमाथि विभिन्न पक्षबाट प्रश्न उठाइएको छ। सरकारको नेतृत्व गरिरहेको दलका केही सांसदहरूले समेत राज्य थप मानवीय र संवेदनशील हुनुपर्ने बताएका छन्। सांसदहरू गणेश कार्की, रञ्जु दर्शना र पुकार बमले घटनाप्रति आपत्ति जनाउँदै राज्यको भूमिकामाथि समीक्षा आवश्यक रहेको बताएका छन्।
यसैबीच, नेपालीको शव उठाउने विषयमा परिवार र प्रशासनबीच अन्योल कायम रहेको छ। परिवारले गणेश परिवारको मुख्य आधार रहेको भन्दै राज्यले जिम्मेवारी नलिएसम्म शव नउठाउने अडान लिएको छ।
गणेश नेपालीका श्रीमती र एक छोरी छन्। उनको निधनपछि परिवार थप संकटमा परेको भन्दै परिवारले राज्यबाट सहयोग र जिम्मेवारीको माग गरेको छ।
घटनापछि अस्पताल क्षेत्रमा मानिसहरूको भीड बढेको छ। सम्भावित सुरक्षा अवस्थालाई ध्यान दिँदै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। जेन–जी अगुवाहरू रक्षा बम र तनुजा पाण्डेसहितले पनि घटनाप्रति आपत्ति जनाउँदै राज्य जिम्मेवार बन्नुपर्ने बताएका छन्।
क्याटेगोरी : समाचार













प्रतिक्रिया