शिक्षामन्त्रीले ‘काम गर्ने कालु,मकै खाने भालु’ पारा निकालेकै हो ?
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारका शिक्षामन्त्री सस्मित पोखरेलमाथि त्रिभुवन विश्वविद्यालयका विभिन्न बिदामा विदेशमा बसेका तथा अन्यत्र कार्यरत प्राध्यापकबाट उठाइएको रकमको श्रेय आफूले लिन खोजेको आरोप लागेको छ।शिक्षा क्षेत्रसँग सम्बन्धित स्रोतका अनुसार विदेशमा रहेका तथा बिदा अवधिमा अन्यत्र कार्यरत प्राध्यापकहरूबाट पछिल्लो समय करिब १३ करोड रुपैयाँ असुलउपर भएको दाबी गरिए पनि उक्त रकमको अधिकांश हिस्सा वर्तमान सरकार गठनअघि नै उठाइसकिएको थियो।
विश्वविद्यालयका अधिकारीहरूका अनुसार मन्त्री पोखरेल नियुक्त भएपछि उठेको रकम करिब ५० देखि ६० लाख रुपैयाँ मात्रै हो। बाँकी रकम भने त्यसअघि नै असुलउपर भइसकेको उनीहरूको भनाइ छ।उनीहरूका अनुसार अध्ययन बिदा, काज वा अन्य बिदामा विदेशमा बसेका तथा स्वदेशमै अन्यत्र कार्यरत प्राध्यापकबाट रकम असुल गर्ने प्रक्रिया वर्तमान सरकार गठनअघि नै सुरु गरिएको थियो।
विश्वविद्यालय प्रशासनका अनुसार तत्कालीन उपकुलपति प्रा. डा. केशरजंग बरालपछि नियुक्त भएका उपकुलपति प्रा. डा. दीपक अर्यालको कार्यकालमा उक्त प्रक्रिया थप सक्रिय बनाइएको थियो। रजिष्ट्रार खड्ग केसीले गत मंसिरमै औपचारिक निर्णय गरी असुलउपर प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ।
विश्वविद्यालयका एक अधिकारीका अनुसार चैत १३ गते सस्मित पोखरेल शिक्षामन्त्री नियुक्त हुनुअघि नै अधिकांश असुलउपर प्रक्रिया सम्पन्न भइसकेको थियो। मंसिरदेखि सुरु भएको असुली वैशाख–जेठसम्म आइपुग्दा करिब १३ करोड रुपैयाँ पुगेपछि त्यसको श्रेय वर्तमान नेतृत्वले लिन खोजेको आरोप उनले लगाए।ती अधिकारीका अनुसार यो कुनै नयाँ सरकारी नीति नभई अघिल्लो कार्यकालमा सुरु गरिएको प्रक्रियाको निरन्तरता मात्र हो। त्यसबेला गठित कार्यदलले सम्बन्धित प्राध्यापकलाई रकम फिर्ता गर्न पत्राचार गर्ने लगायतका प्रशासनिक प्रक्रिया अघि बढाइसकेको थियो।
यस विषयमा केही कर्मचारीहरूले सामाजिक सञ्जालमार्फत अघिल्लो नेतृत्वले सुरु गरेको कामको जस वर्तमान सरकारले लिन खोजेको टिप्पणी गरेका छन्। उनीहरूको भनाइ छ, “काम गर्नेले मेहनत गर्ने, तर श्रेय अरूले लिने” अवस्थाजस्तो देखिएको छ।
यद्यपि, यस विषयमा शिक्षामन्त्री सस्मित पोखरेल वा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन। आरोपबारे सम्बन्धित पक्षको धारणा आउन बाँकी छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया