Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

मैले किन कम्युनिस्ट पार्टी छाडें ?


गत वर्ष भदौमा भएको जेन्जी आन्दोलन कुनै सामान्य सडक प्रदर्शन थिएन । त्यो पुरानो राजनीतिक संरचनामाथि युवाहरूले दिएको खुला अविश्वासको परिणाम थियो । पुराना दलहरू अब जनताको प्रतिनिधि होइनन्, उनीहरू सत्ता जोगाउने संयन्त्र मात्र बन्दै गएका छन् भन्ने कुरा जनताले स्पष्ट रूपमा बुझिसकेका थिए । त्यो आन्दोलनले हरेक पार्टीमा युवा नेतृत्वको खाँचो औँल्याइसकेको थियो । तर, पुराना दल र तिनको नेतृत्वले युवालाई अवसर दिने होइन आफ्नो विकल्प नै नदेख्ने प्रवृत्ति देखाए । सत्ताप्रतिको चरम मोह नै उनीहरूको उद्देश्य बन्यो ।

नेपाली कम्युनिस्ट आन्दोलन जसले समाज परिवर्तनको सपना बोकेको थियो । त्यसको नेतृत्व पनि स्वार्थ, लोभ र सत्तालिप्साको दलदलमा पूर्ण रूपमा डुबिसकेको देखियो । म १७ वर्षको उमेरमै माओवादी आन्दोलनमा होमिएको थिएँ । त्यो निर्णय भावनात्मक आवेग मात्र थिएन त्यो अन्यायविरुद्धको सचेत विद्रोह थियो । तर, आज त्यही आन्दोलनलाई फर्केर हेर्दा एउटा नाङ्गो यथार्थ देखिन्छ । क्रान्तिको नाममा सत्ताको व्यापार । जसले परिवर्तनको वाचा गर्‍यो उसैले यथास्थितिको सबैभन्दा ठूलो संरक्षक बन्ने लाजमर्दो इतिहास रच्यो ।

सशस्त्र संघर्षपछि आएको शान्ति प्रक्रिया परिवर्तनको ऐतिहासिक अवसर थियो । तर, नेतृत्वले त्यो अवसरलाई जनताको पक्षमा प्रयोग गरेन । उसले त्यसलाई आफ्नो व्यक्तिगत शक्ति र सम्पत्ति विस्तार गर्ने माध्यम बनायो । तीन दशकसम्म एउटै नेतृत्वको निरन्तर वर्चस्व कुनै संयोग होइन । यो योजनाबद्ध रूपमा गरिएको शक्ति कब्जा जस्तो देखियो ।

कम्युनिस्ट पार्टीभित्र लोकतन्त्रको अवस्था झन् दयनीय देखियो । बाहिर लोकतन्त्रको भाषण गर्नेहरू भित्र आलोचना सहन नसक्ने अवस्थामा पुगे । प्रश्न गर्नेहरूलाई पाखा लगाइयो फरक मत राख्नेहरूलाई दुश्मन ठानियो । यस्तो कम्युनिस्ट पार्टीलाई जनताको पार्टी भन्नु आफैंमा राजनीतिक ठट्टा जस्तो लाग्छ । अझ लाजमर्दो पक्ष भनेको सत्ताप्रतिको असीमित लोभ हो। पदका लागि हुने होडले राजनीति अब सिद्धान्तको लडाइँ नभएर अवसरको व्यापारजस्तो बनेको छ ।

प्रधानमन्त्री, मन्त्री, सांसद बन्ने खेलले राजनीति सेवा होइन, व्यक्तिगत उन्नतिको माध्यम हो भन्ने व्यवहारमा देखायो । विचार केवल भाषणका लागि मात्र सीमित भए । व्यवहारमा सत्ता नै अन्तिम सत्य हो भन्ने नेतृत्वको लालसा प्रस्ट देखियो । जेन्जी आन्दोलनका क्रममा नेताहरूका घरमा भेटिएका करोडौँ रकम प्रणालीगत भ्रष्टाचारबाट आर्जित अकुत सम्पत्ति हुन् । सर्बहारा वर्गको मुक्तिको नारा दिनेहरू आफैं नयाँ धनाढ्य वर्गमा रूपान्तरण हुनु राजनीतिक विश्वासघात हो ।

पार्टीभित्रको टिके प्रथा, गुटगत स्वार्थ र अन्धनिष्ठाले संगठनलाई पूर्ण रूपमा विचारविहीन बनाइसकेको छ । जहाँ चाकडीलाई योग्यता ठानिन्छ त्यहाँ पतन अनिवार्य हुन्छ । जहाँ प्रश्नलाई अपराध ठानिन्छ त्यहाँ परिवर्तनको सम्भावना शून्य हुन्छ ।

यी सबै यथार्थहरूले मलाई एउटा कठोर निष्कर्षमा पुर्‍यायो र मैले कम्युनिस्ट पार्टी छाडे । यो संरचनाभित्र बसेर परिवर्तनको कुरा गर्नु आफैंलाई ढाँट्नु मात्र हो । त्यसैले कम्युनिस्ट पार्टी छोड्ने मेरो निर्णय कुनै व्यक्तिगत असन्तुष्टि नभई एक स्पष्ट राजनीतिक अस्वीकार हो । भ्रष्ट, अपारदर्शी र पाखण्डपूर्ण संरचनाको अस्वीकार हो ।

आजको नेपाली कम्युनिस्ट आन्दोलन गम्भीर संकटमा छ । यो केवल वैचारिक वा नैतिक संकट मात्र होइन । यो अस्तित्वको संकट हो । यदि यसले आत्मसमीक्षा गर्ने साहस देखाएन भने इतिहासले यसलाई क्रान्तिको वाहक होइन अवसरवादको सबैभन्दा ठूलो उदाहरणका रूपमा दर्ज गर्नेछ । जनता अब देखिने गरी परिवर्तन चाहन्छन् । उनीहरू अब नाराले होइन परिणामले मूल्याङ्कन गर्छन् । राजनीति अब भाषणको खेल होइन यो उत्तरदायित्वको कठोर परीक्षा हो । जबसम्म कम्युनिस्ट दलहरूभित्रैबाट शुद्धीकरण र लोकतान्त्रिक पुनर्संरचना हुँदैन तबसम्म क्रान्ति शब्द केवल खोक्रो नारा बनेर रहनेछ । जनताको आशा होइन निराशाको प्रतीक बन्नेछ ।


क्याटेगोरी : राजनीति, विचार, समाचार

प्रतिक्रिया


ताजा अपडेट