Techie IT
KTM Post
शुक्रबार, ८ साउन, २०८३

अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को मध्यावधि निर्वाचनमा डेमोक्र्याट उम्मेदवारहरूलाई निरन्तर ‘समाजवादी’ वा ‘कम्युनिस्ट’ भनेर आक्रमण गर्ने रणनीति अपनाएका छन् । हालैका डेमोक्रेटिक प्राथमिक निर्वाचनहरूमा लोकतान्त्रिक समाजवाद (डेमोक्रेटिक सोसलिज्म) प्रति केही बढ्दो समर्थन देखिए पनि अमेरिकी राजनीतिमा अहिलेको ठुलो परिवर्तन समाजवादको उदयभन्दा पनि पुँजीवाद र आर्थिक न्यायप्रतिको घट्दो विश्वास हो ।

हालै सार्वजनिक भएको फक्स न्युजको सर्वेक्षणले यसै प्रवृत्तिलाई पुष्टि गरेको छ । यसले गत वर्षको ग्यालप सर्वेक्षणसँग मिल्दोजुल्दो निष्कर्ष प्रस्तुत गर्दै समाजवादप्रतिको धारणा सामान्य मात्रामा सुधारिएको देखाएको छ भने पुँजीवादप्रतिको सकारात्मक दृष्टिकोण भने उल्लेखनीय रूपमा घटेको देखाएको छ ।

सन् २०१९ मा दर्ता भएका मतदातामध्ये ५७ प्रतिशतले पुँजीवादलाई सकारात्मक र २७ प्रतिशतले नकारात्मक रूपमा हेर्थे, अर्थात् सकारात्मक धारणा ३० प्रतिशत बिन्दुले बढी थियो । अहिले भने ५० प्रतिशतले सकारात्मक र ४६ प्रतिशतले नकारात्मक धारणा राखेका छन् । यसले सकारात्मक मतको अन्तर केवल ४ प्रतिशत बिन्दुमा झरेको देखाउँछ ।

सर्वेक्षणअनुसार ६५ प्रतिशत अमेरिकी मतदाताले ‘आर्थिक प्रणाली धनीहरूको पक्षमा झुकेको छ’ भन्ने कुरामा सहमति जनाएका छन् । ट्रम्पको पहिलो कार्यकालमा यस्तो सोच राख्नेको संख्या ५६ प्रतिशत थियो ।

यी तथ्याङ्कमध्ये सबैभन्दा उल्लेखनीय कुरा के हो भने परिवर्तनको ठुलो हिस्सा रिपब्लिकन समर्थकहरूमा देखिएको छ ।

सन् २०१९ मा ७२ प्रतिशत रिपब्लिकनले पुँजीवादप्रति सकारात्मक धारणा राखेका थिए । अहिले यो सङ्ख्या ६१ प्रतिशतमा झरेको छ । त्यस्तै पुँजीवादप्रति ‘अत्यन्त सकारात्मक’ धारणा राख्ने रिपब्लिकनको अनुपात ५४ प्रतिशतबाट घटेर ४१ प्रतिशतमा पुगेको छ ।

त्यस्तै ‘आर्थिक प्रणाली धनीहरूको पक्षमा छ’ भन्ने विश्वास राख्ने रिपब्लिकनको सङ्ख्या सन् २०१८ को ३० प्रतिशतबाट बढेर अहिले ४२ प्रतिशत पुगेको छ ।

यसको अर्थ, स्वतन्त्र बजारको पक्षधर पार्टीका रूपमा चिनिने रिपब्लिकनभित्र पनि आधाभन्दा कम सदस्यले मात्र पुँजीवादप्रति बलियो समर्थन जनाइरहेका छन्, जबकि ४२ प्रतिशतले आर्थिक प्रणाली धनीहरूका पक्षमा रहेको भन्ने धारणा व्यक्त गरेका छन् । यो विचार प्रायः स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्सले उठाउँदै आएका मुद्दासँग मेल खान्छ ।

आर्थिक प्रणालीप्रति बढ्दो निराशा

अन्य सर्वेक्षणहरूले पनि यही प्रवृत्ति देखाएका छन् । वाल स्ट्रिट जर्नल–एनओआरसीको जुन महिनाको सर्वेक्षणअनुसार आधाभन्दा कम अमेरिकीले मात्र पुँजीवादले कम्तीमा पनि ‘केही हदसम्म राम्रोसँग काम गरिरहेको’ बताएका छन् । करिब एक दशकअघि यस्तो धारणा राख्नेको सङ्ख्या ६० प्रतिशत थियो ।

प्यू रिसर्च सेन्टरको जनवरी सर्वेक्षणमा ६१ प्रतिशत अमेरिकीले धनीहरूले उचित कर नतिर्ने विषयले आफूलाई निकै चिन्तित बनाएको बताएका छन् । यसमा ४१ प्रतिशत रिपब्लिकन र रिपब्लिकन समर्थक स्वतन्त्र मतदाता पनि समावेश छन् ।

सोही सर्वेक्षणमा ६० प्रतिशत अमेरिकीले केही ठुला कम्पनीहरूले पनि आफ्नो उचित कर नतिरेको बताएका छन् । रिपब्लिकन झुकाव भएका मतदातामध्ये यस्तो धारणा राख्नेको सङ्ख्या ४२ प्रतिशत छ ।

ग्यालपका अनुसार ठुला व्यवसायप्रतिको सकारात्मक धारणा पनि सन् २०१२ मा ५८ प्रतिशत सकारात्मक र ३९ प्रतिशत नकारात्मक थियो भने गत वर्ष ३७ प्रतिशत सकारात्मक र ६२ प्रतिशत नकारात्मकमा झरेको छ ।

आर्थिक सुधारको एजेन्डा प्रभावकारी बन्न सक्ने

यी सबै तथ्याङ्कले अमेरिकी मतदातामाझ वर्तमान आर्थिक प्रणाली परिवर्तन गर्ने बाचा गर्ने उम्मेदवारहरूको आकर्षण बढ्न सक्ने सङ्केत गर्छ । त्यस्ता एजेन्डालाई समाजवाद वा अन्य कुनै नाम दिइए पनि आर्थिक असमानताप्रति जनचासो बढ्दै गएको देखिन्छ ।

यही कारण लोकतान्त्रिक समाजवाद अझै व्यापक रूपमा लोकप्रिय नभए पनि त्यस विचारधारासँग जोडिएका केही नेताहरू राष्ट्रिय स्तरमा राम्रो जनसमर्थन प्राप्त गर्न सफल भएका छन् ।

उदाहरणका लागि, स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्स विगत एक दशकमा अमेरिकाका सबैभन्दा सकारात्मक छवि भएका नेतामध्ये एक मानिन्छन् । त्यस्तै न्यूयोर्ककी प्रतिनिधि अलेक्जान्ड्रिया ओकासियो–कोर्टेज ९एओसी० पनि रिपब्लिकनहरूको लामो आलोचनाका बाबजुद उल्लेखनीय लोकप्रियता कायम राख्न सफल भएकी छन् । फक्स न्युजको सर्वेक्षणमा उनको लोकप्रियता उपराष्ट्रपति जेडी भान्सको हाराहारीमा देखिएको छ, यद्यपि दुवै अत्यधिक लोकप्रिय भने छैनन् ।

यसै साता रिपब्लिकन धारकी टिप्पणीकार मेगन म्याककेनले यदि डेमोक्रेटहरूले न्यूयोर्कका मेयर जोहरान मामदानीजस्तै आर्थिक मुद्दामा प्रभावकारी ढंगले बोल्न सक्ने उम्मेदवार अघि सारे भने रिपब्लिकनहरूलाई ठुलो चुनौती हुने टिप्पणी गरेकी थिइन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘उनले प्रस्तुत गर्ने शैली अत्यन्त प्रभावकारी छ । समाजवादप्रति मेरो गहिरो असहमति भए पनि उनको सन्देश निकै प्रभावशाली छ । यदि डेमोक्रेटहरू बुद्धिमानी भए भने अर्थतन्त्र र राष्ट्रिय नीतिका विषयमा त्यस्तै शैली र प्रस्तुतिका उम्मेदवारलाई अघि सार्नेछन् ।’

यी सबै तथ्यहरूले ट्रम्पले सोचेजस्तो विपक्षीलाई केवल ‘समाजवादी’ वा ‘कम्युनिस्ट’ भनेर आरोप लगाउनुमात्र चुनाव जित्ने प्रभावकारी हतियार नहुने सङ्केत गरेका छन् ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट