धर्मेन्द्र प्रधानको राजीनामापछि पनि आन्दोलन जारी रहने
भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिए पनि विद्यार्थी आन्दोलन तत्काल नरोकिने भएको छ। आन्दोलनका प्रमुख अगुवा अभिजित दिपकेले सरकारसँग राखिएका सबै माग पूरा नभएसम्म जन्तर–मन्तरबाट आन्दोलन फिर्ता नहुने स्पष्ट पारेका छन्।
प्रधानको राजीनामालाई आन्दोलनको महत्वपूर्ण उपलब्धि भन्दै दिपकेले यो केवल पहिलो सफलता भएको प्रतिक्रिया दिएका छन्। उनका अनुसार अब आन्दोलनको केन्द्रबिन्दु बाँकी दुई मागको कार्यान्वयन हुनेछ। उनले आन्दोलन कुनै एक व्यक्ति वा संगठनको नभई देशभरका युवाको साझा अभियान बनिसकेको उल्लेख गर्दै सरकारमाथि थप दबाब कायम रहने बताए।
पछिल्ला केही सातादेखि प्रश्नपत्र चुहावट, परीक्षा प्रणालीमा देखिएका अनियमितता तथा युवाको भविष्यप्रति सरकार गैरजिम्मेवार बनेको आरोप लगाउँदै देशका विभिन्न भागमा प्रदर्शन भइरहेको छ। आन्दोलनले व्यापक समर्थन पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि दबाब बढेको थियो। त्यसपछि शिक्षामन्त्री प्रधानले पदबाट राजीनामा दिएका हुन्।
दिपकेले आन्दोलनका बाँकी मागमा शिक्षा प्रणालीमा संरचनात्मक सुधार, परीक्षा प्रक्रियालाई पूर्ण पारदर्शी बनाउने तथा दोषीमाथि कडा कारबाही सुनिश्चित गर्नुपर्ने विषय रहेको बताएका छन्। यी माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ।
शिक्षामन्त्रीको राजीनामासँगै आन्दोलनको एउटा चरण सफल भएको विश्लेषण भइरहेका बेला आन्दोलनकारीहरूले भने सरकारका थप निर्णयको प्रतीक्षा गर्ने संकेत दिएका छन्। यसले भारतमा पछिल्ला वर्षहरूकै सबैभन्दा ठूलो युवा आन्दोलन अझै केही समय जारी रहने सम्भावना देखिएको छ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया