Techie IT
KTM Post
सोमबार, ११ साउन, २०८३

ओमानको मध्यस्थतामा अन्तरिम युद्धविराम वार्ता अघि बढ्दै, मोजतबा खामेनेईद्वारा जिहादको आह्वान


काठमाडौं । अमेरिका र इरानबीच विगत दुई सातादेखि जारी भीषण सैन्य सङ्घर्षपछि दुवै देशले लगातार दोस्रो दिन एक-अर्कामाथिका आक्रमणहरू रोकेका छन्। आक्रमण रोकिँदै गर्दा दुवै पक्ष पुनः अन्तरिम युद्धविराम सम्झौताका लागि कूटनीतिक वार्ताको टेबुलमा फर्किने सङ्केत देखिएको छ। मध्यस्थकर्ता मुलुकहरू (विशेषगरी ओमान) यतिबेला कूटनीतिक सहमति कायम गराउन सक्रिय रूपमा लागिपरेका छन्।

यसैबीच, इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनेईले लेबनानको क्षेत्रीय अखण्डताको रक्षा हुनु नै अमेरिका र इजरायलसँगको युद्ध अन्त्य गर्ने मुख्य शर्त रहेको बताएका छन्। साथै, उनले अमेरिकी र इजरायली अत्याचारविरुद्ध ‘जिहाद’ र प्रतिरोधको आह्वानसमेत गरेका छन्।होर्मुज जलडमरूमध्य बाट गुज्रिने व्यापारिक जहाजहरूमाथि इरानले आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तटीय क्षेत्र र पूर्वाधारहरूमा निरन्तर सैन्य प्रहार गरिरहेका थिए। संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले राष्ट्रपति ट्रम्पले कूटनीतिक संवाद र सम्झौताका लागि थप समय र वातावरण बनाउन आक्रमण रोकेको स्पष्ट पारेका छन्।

अहिले ओमान, इरान र अमेरिकी वार्ताकारहरूबीच शीर्ष तहदेखि प्राविधिक तहसम्म निरन्तर छलफल भइरहेको छ। इरानी सेनाका प्रवक्ताले पनि अमेरिकाले हमला रोकेपछि आफूहरूले पनि सैन्य कारबाही अस्थायी रूपमा स्थगित गरेको पुष्टि गरेका छन्।इरानी सरकारी टेलिभिजनमार्फत वक्तव्य जारी गर्दै इरानका सर्वोच्च नेता मोजतबा खामेनेईले लेबनानको क्षेत्रीय अखण्डताको रक्षा र इजरायली आक्रमणको पूर्ण अन्त्य नै युद्ध रोक्ने पहिलो र कडा शर्त भएको बताएका छन्।

खामेनेईले भनेका छन्, “आज जब विश्वका देशहरू अमेरिकी सरकार र नरसंहारकारी, लोभी जायोनिस्टहरूको अत्याचारबाट आजित भइसकेका छन्, तब जिहाद र उनीहरूलाई रोक्नुको विकल्प छैन। यस मार्गमा दृढ रहँदा सत्यको बाटोमा हिँड्ने मुजाहिदीन (लडाकुहरू) ले प्रतिज्ञा गरिएको चमत्कारिक विजय प्राप्त गर्नेछन्।”

अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीचको आगामी चरणको वार्ता अगस्ट ४ मा इटालीमा हुने तय भएको छ। दुवै देश दक्षिणी लेबनानबाट इजरायली सेनाको फिर्ती र लेबनानी सेनाको तैनाथीसम्बन्धी योजना कार्यान्वयन गर्न सहमत भएका छन्।

यसैबीच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार वासिङ्टन पुगेर राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम छ। नेतन्याहुले इरानलाई कमजोर पार्ने ट्रम्पको प्रयासलाई आफ्नो पूर्ण समर्थन रहेको बताउँदै ठूलो सैन्य अभियानविना इरानको आणविक कार्यक्रम रोकिएमा त्यसको स्वागत गरिने बताएका छन्। यद्यपि, इरान वा उसका समर्थक समूहहरूले इजरायलमाथि पुनः आक्रमण गरेमा त्यो उनीहरूका लागि ठूलो भुल हुने चेतावनी पनि नेतन्याहुले दिएका छन्।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट