Techie IT
KTM Post
आईतबार, १० साउन, २०८३

अमेरिका–रुसको अन्तरिक्ष टोली २४१ दिनपछि कजाखस्तानमा सुरक्षित अवतरण


अमेरिका र रुसको संयुक्त अन्तरीक्ष टोली आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन ९आइएसएस० मा आठ महिनाभन्दा बढी समय बिताएपछि सुरक्षित रूपमा पृथ्वीमा फर्किएको छ । वाशिङ्टन र मस्कोबीच जारी राजनीतिक तनावका बाबजुद यो अभियान दुवै देशको अन्तरिक्ष सहकार्यको अर्को सफल उदाहरण बनेको छ ।

कजाखस्तानमा अवतरण

नासाका अन्तरिक्ष यात्री क्रिस विलियम्स तथा रुसी अन्तरिक्ष यात्री सर्गेई कुड–स्भेर्चकोभ र सर्गेई मिखाएभ सोयुज एमएस–२८ अन्तरिक्ष यानमार्फत कजाखस्तानमा सुरक्षित अवतरण गरेका छन् । कुल २४१ दिनको अभियान पूरा गरेपछि ‘क्याप्सुल प्यारासुट’को सहायताले जेज्काजगनको दक्षिण–पूर्वस्थित निर्धारित क्षेत्रमा यान सफलतापूर्वक उत्रिएको थियो ।

तीनै अन्तरिक्ष यात्रीले करिब आठ महिनासम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा वैज्ञानिक अनुसन्धान, मर्मतसम्भार र अन्य सञ्चालनसम्बन्धी कार्य गरेका थिए । यो अभियान अन्तरिक्षमा अन्तर्राष्ट्रिय सहयोगको महत्वपूर्ण उदाहरण मानिन्छ ।

सुरक्षित अवतरणपछि उद्धार टोलीले अभियानमा संलग्न टोलीको स्वागत गरेको थियो । त्यसपछि अन्तरिक्ष यात्रीहरूलाई हेलिकोप्टरमार्फत कारागाण्डा लगिने बताइएको छ । त्यहाँबाट क्रिस विलियम्स नासाको जोन्सन स्पेस सेन्टर, ह्युस्टन जानुहुनेछ भने सर्गेई कुड–स्भेर्चकोभ र सर्गेई मिखाएभ रुसको स्टार सिटी फर्कनुहुनेछ ।

यो क्रिस विलियम्स र सर्गेई मिखाएभको पहिलो अन्तरिक्ष यात्रा थियो भने सर्गेई कुड–स्भेर्चकोभ दोस्रो पटक अन्तरिक्ष यात्रामा गएका थिए ।

राजनीतिक तनावका बाबजुद अन्तरिक्ष सहकार्य जारी

शीतयुद्धका बेला अन्तरिक्ष क्षेत्रमा प्रतिद्वन्द्वी रहेका अमेरिका र रुस धेरै वर्षदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा सँगै काम गर्दै आएका छन्। सन् २०२२ मा युक्रेन द्वन्द्वपछि दुवै देशका सम्बन्धमा तनाव बढे पनि अन्तरिक्ष सहयोग जारी रह्यो। नासाका अन्तरिक्ष यात्री र रुसी अन्तरीक्ष यात्री नियमित रूपमा अमेरिकी र रुसी अन्तरिक्ष यानमार्फत र्आएसएससम्म आउजाउ गरिरहेका छन्।

सोयुज एमएस–२८ को टिम फर्कनुभन्दा दुई साताअघि, १४ जुलाईमा नासाका अन्तरिक्ष यात्री अनिल मेनन तथा रोस्कोस्मोसका कस्मोनट प्योत्र दुब्रोभ र अन्ना किकिना कजाखस्तानस्थित बैकोनुर कस्मोड्रोमबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पुगेका थिए। यो टोल एक्स्पेडिसन–७५ अन्तर्गत अर्को आठ महिनासम्म स्टेशनमा कार्य गर्नेछ ।

नयाँ टोली पुगेपछि नासाकी जेसिका मेयर र ज्याक ह्याथवे, युरोपेली अन्तरिक्ष एजेन्सीकी सोफी एडेनोत तथा रुसी यात्री आन्द्रेई फेद्ययेभसँग मिलेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा वैज्ञानिक अनुसन्धानको कार्य जारी रहनेछ ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट