असोज तेस्रो हप्ता सम्म पार्टी एकताले सार्थकता पाउँछ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी एकता सहमति उन्मुख रहेको बताएका छन् ।
पार्टी एकताका लागि दबाब दिन नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना नेतृत्वको कांग्रेस समर्थित स्थानिय तहका जनप्रतिनिधिहरू आईतबार भएको भेटमा सभापति थापाले यस्तो बनाएका हुन् ।
सभापति थापाले वर्तमान चुनौती सामना गर्नका लागि पनि पार्टी एकता अपरिहार्य रहेको भन्दै एकतामा असर पर्ने कार्य नगर्न सबैसँग आग्रह गरेको दबाब अभियानका संयोजक भीम ढुंगानाले जानकारी दिए । उनले पार्टी एकताका लागि दबाब अभियानले साउन १६ मा आयोजना गर्न लागेको राष्ट्रिय भेलासमेत स्थगित गर्न आग्रह गरेको जानकारी दिए ।
‘हामी पार्टी भित्रको समस्या समाधानका लागि गम्भीरतापूर्वक लागेका छौं, मतभेद र बहस चर्काउने भन्दा पनि घटाउनु पर्छ,’ सभापति थापाको भनाई उदृत गर्दै ढुंगानाले भने,’तपाईंहरूको पहल राम्रो छ, तर अहिले भेला गर्ने भन्दा पनि मसिनो गरि विषयहरू टुंगो गर्नु पर्ने भएकाले साउन १६ को भेला स्थगित गर्नुस्, आवश्यक परे बरू म आफैं बलाउनुस् भन्छु ।’
सभापति थापाले असन्तुष्ट नेताहरूसँग कार्य दल नै बनाएर सुष्म रूपले सहमतिको खाका बनाउन दुई जना सदस्यको नाम मागिएको र चार सदसीय कार्यदल आज भोलि नै बन्ने जानकारीसमेत गराएका कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार सभापति थापाले केन्द्रीय समिति नै पर धकलेर भए पनि सहमतिको प्रयास थालिएको बताए । ‘असोज तेस्रो हप्ता सम्म सहमतिले सार्थकता पाउँछ,’ थापाको भनाई उदृत गर्दै कार्कीले भने ।
विगत केही दिनदेखि शीर्ष नेताहरूलाई भेटेर पार्टी एकताका लागि दबाब दिइरहेको समूहले आइतबार सभापति थापासँग एक्लै भेटेको थियो । भेटका क्रममा स्थानिय तहका जनप्रतिनिधिहरूले पार्टी एकताबिना गाउँमा जनातालाई आशावादी बनाउन नसिकने र पार्टीको शाख फर्काउन नसिकने बताएका थिए । उनीहरूले पार्टी एकता नभए यही परिस्थितिमा पार्टीमा रहनुको औचित्य नहुने भन्दै स्थानीय तहबाट राजीनामासमेत दिने बताएको भेटमा सहभागी शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले जानकारी दिए ।
सभापतिज्यूसँग हामीले पार्टी एक नभए हामी स्थानीय तहमा रहनुको औचित्य नरहने तर्फसमेत ध्यानाकर्षण गराएका छौँ,’ भण्डारीले भने ।
सभापति थापाले भने त्यस्तो अवस्था नआउने कांग्रेस एक हुनेमा आश्वस्त तुल्याएको तिलागुफा नगरपालिकाका नगरप्रमुख शंकर उपाध्यायले जानकारी दिए ।
सभापतिले अभियानको दबाब दबाबलाई सकारात्मक रूपमा लिएकाले अब कसरी जाने भन्ने सन्दर्भमा देशभरका जनप्रतिनिधिहरू सँग एक पटक जुम बैठक गर्ने थप धारणा बनाउने संयोजक ढुंगानाले जानकारी दिए । ‘हाम्रो खबरदारी जारी रहन्छ, भेला के गर्ने भन्नेबारे साथिहरू थप छलफल गरेर निर्णय गर्छौ,’ कागेश्वरी मनोहराका नगरप्रमुख कार्कीले भने ।
आइतबारको भेटमा संघका अध्यक्ष ढुंगाना, गाउँपालिका महासंघका उपाध्यक्ष लक्ष्मण शाही, हलेसी नगरपालिकाका नगरप्रमुख विमला राई, चरिकोट नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपाने, कागेश्वरी मनोहराका नगरप्रमुख कार्की, तिलागुफाका नगरप्रमुख उपाध्याय, शारदा नगरपालिकाका नगरप्रमुख भण्डारी, तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जन, दबाब अभियान प्रचारप्रसार समितिका संयोजक एवं प्रेस युनियनका पूर्व कोषाध्यक्ष सरोज अधिकारी लगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया