शिक्षामन्त्रीले आईजीपीसँग छलफल गरेलगत्तै एमबीएसको प्रश्नपत्र ‘लिक’ गर्ने व्यक्तिहरू पक्राउ
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार प्रश्नपत्र बाहिरिएको सूचना प्राप्त हुनासाथ शिक्षामन्त्री सस्मित पोखरेलले शनिबार राति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग छलफल गर्दै तत्काल अनुसन्धान अघि बढाउन निर्देशन दिएका थिए। त्यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक व्यक्तिलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो।मन्त्री पोखरेलले शनिबार राति मन्त्रालयमै सम्बन्धित अधिकारीहरूसँग बैठक गरी घटनाबारे छलफल गरेका थिए। उनले प्रहरीका उच्च अधिकारी तथा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग समन्वय गर्दै छानबिन प्रक्रिया अगाडि बढाएका थिए।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले एमबीएस प्रथम सत्रको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। प्रारम्भिक अनुसन्धानमा ‘MBS First Sem Section C’ नामक ह्वाट्सएप समूहमा परीक्षा सुरु भएको करिब पाँच मिनेटमै प्रश्नपत्र पठाइएको खुलेको दाबी गरिएको छ।
साउन ८ गते सञ्चालन भएको स्नातकोत्तर तहको ‘Organizational Behavior’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यसलगत्तै ‘TU Students’ नामक फेसबुक पेजले ह्वाट्सएप समूहको स्क्रिनसट सार्वजनिक गर्दै त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराएको थियो।
घटनापछि व्यवस्थापन संकायको डिन कार्यालयले साइबर ब्युरोलाई औपचारिक पत्राचार गर्दै अनुसन्धानका लागि अनुरोध गरेको थियो।यसैबीच, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण महाशाखाले घटनाको सत्यतथ्य छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा गठित समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक डा. पुष्कर रैखला तथा केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहेका छन्।समितिलाई घटनाको विस्तृत छानबिन गरी सात कार्यदिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया