डा. गोविन्द केसी र सरकारबीच औपचारिक वार्ता सुरु
नगढी । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै धनगढीमा २४ औँ सत्याग्रह (आमरण अनशन) मा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी र सरकारबीच औपचारिक वार्ता सुरु भएको छ।आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा दुई पक्षबीच छलफल अघि बढेको हो। बिहीबार (साउन ८ गते) देखि धनगढीको कृष्ण मन्दिर धर्मशालाबाट अनशन सुरु गरेका डा. केसीको साउन १० गते (शनिबार) ब्लड सुगर र रक्तचाप अत्यधिक घटेपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालको आईसीयू मा भर्ना गरिएको थियो।
अस्पतालको आईसीयूमा रहेका डा. केसीको अवस्थालाई मध्यनजर गर्दै सरकारले वार्ता टोली गठन गरी धनगढी पठाएको हो।
वार्ता टोलीमा को-को छन्?
सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ। टोलीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेल सदस्य रहेका छन्।यस्तै, सांसद पुकार बम पनि वार्ता टोलीको समन्वयका लागि सहभागी रहेका छन्। डा. केसीको तर्फबाट उहाँका सहयोगी डा. अमृत जैसी र पवन थापाले सरकारसँग औपचारिक वार्ता गरिरहेका छन्।
मागमा दृढ अडानवार्ताबारे जानकारी दिँदै डा. केसीका सहयोगी डा. अमृत जैसीले डा. केसी आफ्ना मागहरूबाट पछि नहट्ने अडानमा रहेको बताएका छन्।डा. केसीले चिकित्सा शिक्षा आयोगमा भएका राजनीतिक नियुक्ति खारेजी, मापदण्ड नपुगेका निजी मेडिकल कलेजमा कोटा/सिट बढाउने निर्णयको खारेजी, चिकित्सा शिक्षालाई गैर-नाफामूलक बनाउनुपर्ने, छात्रवृत्ति नकाट्ने तथा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) लाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने लगायतका मागहरू अघि सारेका छन्।
यसअघि शिक्षा मन्त्री सास्मित पोखरेलले डा. केसी र डा. जैसीसँग टेलिफोन संवाद गरी सत्याग्रह स्थगित गर्न र वार्ताबाटै समस्या समाधान गर्न आग्रह गरेका थिए। डा. केसीको स्वास्थ्य स्थिति भने अझै जटिल रहेको र अस्पतालको चिकित्सकीय टोलीले उनलाई लगातार निगरानीमा राखेको जनाइएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया