Techie IT
KTM Post
आईतबार, १० साउन, २०८३

चीनमा यस वर्षकै शक्तिशाली ‘नाउल’ टाइफुन: ग्वाङडोङमा भारी वर्षा र हावाहुरी, ७ लाखभन्दा बढी मानिस विस्थापित


हङकङ। शक्तिशाली टाइफुन (समुद्री आँधी) ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि ग्वाङडोङ प्रान्तमा तीव्र हावाहुरी र भारी वर्षा भएको छ।यो यस वर्ष चीनमा ठोक्किएको सबैभन्दा शक्तिशाली टाइफुन हो। आँधीका कारण सुरक्षाका लागि ग्वाङडोङबाट सात लाख १५ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

चीनको राष्ट्रिय मौसम केन्द्रका अनुसार ‘नाउल’ आइतबार बिहान ३:५० बजे दक्षिणी ग्वाङडोङ प्रान्तको हुइझोउ सहरस्थित हुइडोङ काउन्टीको तटीय क्षेत्रमा ठोक्किएको थियो।ग्वाङडोङको भित्री भूभागतर्फ अघि बढ्दै गर्दा यो क्रमशः कमजोर बन्दै गए पनि तटीय हुइलाइ काउन्टी लगायतका धेरै स्थानमा थुप्रै रूखहरू ढलेका छन्।

उडान र रेल सेवा प्रभावित, हङकङमा ९ जना घाइते

हङकङको मौसम विभागका अनुसार आँधीको केन्द्रनजिक अधिकतम हावाको गति प्रतिघण्टा ११० किलोमिटरसम्म पुगेको थियो। सुरक्षालाई ध्यानमा राख्दै ग्वाङडोङका धेरै रेल सेवाहरू रद्द गरिनुका साथै हङकङ विमानस्थलबाट आइतबार तय भएका करिब ३५० वटा उडान रद्द गरिएका छन्।

अधिकारीहरूका अनुसार हङकङमा आँधीका कारण कम्तीमा नौ जना घाइते भएका छन्। हङकङनजिक पुग्दै गर्दा एउटा अग्लो भवनमा जडान गरिएको मचानको केही भाग भत्किए पनि मानवीय क्षति भने नभएको जनाइएको छ।

फुजियान र ताइवानमा पनि असर

चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले दक्षिणी ग्वाङडोङका साथै दक्षिणपूर्वी फुजियान प्रान्तका क्षेत्रहरूमा भारी वर्षा र तीव्र हावाहुरीको चेतावनी दिएको छ। यस्तै ताइवानको केन्द्रीय मौसम प्रशासनका अनुसार ‘नाउल’ ताइवानको दक्षिणी समुद्री क्षेत्र हुँदै अघि बढ्दा त्यसको प्रभावले ताइवानका दक्षिणी तथा पूर्वी क्षेत्रहरूमा पनि वर्षा भएको छ।

यसअघि पनि यसै महिनाको सुरुमा जुलाइ ३ मा टाइफुन ‘मेसाक’ र जुलाइ ११ मा टाइफुन ‘भाभी’ दक्षिणी तथा पूर्वी चीनमा ठोक्किएका थिए। टाइफुन ‘भाभी’का कारण २० लाखभन्दा बढी मानिस विस्थापित भएका थिए।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट