मेसी एमएलएस अलस्टार खेलबाट बाहिर
काठमाडौं । अर्जेन्टिनाका कप्तान तथा इन्टर मियामीका स्टार फरवार्ड लियोनेल मेसी यही बुधबार नर्थ क्यारोलिनाको चार्लोटमा हुने एमएलएस अलस्टार खेलबाट आधिकारिक रूपमा बाहिरिएका छन् । विश्वकपको फाइनलसम्मको लामो यात्रापछि उनी अहिले विश्राममा रहेकाले खेल नखेल्ने भएका हुन् ।
मेसीसँगै हुगो कुइपर्स, रोड्रिगो डे पाउल र म्बेकेजेली म्बोकाजी पनि अलस्टार खेलबाट बाहिरिएका छन् । यस खेलमा एमएलएसका उत्कृष्ट खेलाडीहरूले मेक्सिकोको लिगा एमएक्सका उत्कृष्ट खेलाडीहरूसँग प्रतिस्पर्धा गर्नेछन् ।
शिकागो फायरबाट उत्कृष्ट प्रदर्शन गर्दै अलस्टार टोलीमा स्थान बनाएका कुइपर्सलाई मेक्सिकोको सीएफ मोन्टेरेमा स्थानान्तरण गरिएको थियो । त्यसैले उनी पनि अलस्टार खेलमा सहभागी हुने छैनन् ।
इन्टर मियामीका मिडफिल्डर रोड्रिगो डे पाउल पनि अर्जेन्टिनासँग विश्वकप खेलेपछि मेसीकै बाटो पछ्याउँदै अलस्टार कार्यक्रमबाट बाहिरिएका छन् । दक्षिण अफ्रिकी डिफेन्डर म्बेकेजेली म्बोकाजी भने तल्लो शरीरमा लागेको चोटका कारण खेल्न नसक्ने भएका छन् ।
यी चार खेलाडीको स्थानमा इन्टर मियामीका मिडफिल्डर यानिक ब्राइट, भ्यानकुभर ह्वाइटक्याप्सका मिडफिल्डर आन्द्रेस कुबास, ह्युस्टन डायनामोका फरवार्ड गिल्हेर्मे तथा शिकागो फायरका फरवार्ड फिलिप जिन्कर्नागेललाई अलस्टार टोलीमा समावेश गरिएको छ ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया