सुनसरीको देवानगञ्ज घटनाले उठाएका गम्भीर प्रश्न
काठमाडौं । नेपाल विविध धर्म, जाति र संस्कृतिको साझा फूलबारी हो । यही विविधताबीचको सहिष्णुता र सद्भाव नै नेपालको पहिचान बनेको छ । तर, आइतबार राति सुनसरीको देवानगञ्जमा भएको धार्मिक झडपले फेरि एउटा गम्भीर प्रश्न उठाएको छ ।
एक जनाको मृत्यु भयो । दुई दर्जनभन्दा बढी घाइते भए । एउटा झण्डाको विषयबाट सुरु भएको विवाद रातारात हिंसामा कसरी बदलियो रु राज्य संयन्त्र कहाँ चुक्यो ? र सबैभन्दा ठूलो प्रश्न, के नेपाल धार्मिक र जातीय ध्रुवीकरणको नयाँ मोडतर्फ धकेलिँदै छ ? आज हामी सुनसरीको घटनासँगै नेपालको धार्मिक तथा जातीय सद्भावको इतिहास, वर्तमान अवस्था र भविष्यका चुनौतीबारे चर्चा गर्नेछौँ ।
सुनसरीको देवानगञ्जमा भएको घटनापछि सरकारले छानबिन समिति गठन गरेको छ । स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ । नेपाली सेना परिचालन गरिएको छ भने सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ ।
सामाजिक सञ्जालमा धार्मिक संगठनका नाममा उत्तेजक अभिव्यक्ति फैलिन थालेपछि देशभर सुरक्षा निगरानी बढाइएको छ । तर प्रश्न उठ्छ, के नेपालमा यस्तो घटना पहिलो पटक भएको हो र ?
सामाजिक सञ्जालमा धार्मिक संगठनका नाममा उत्तेजक अभिव्यक्ति फैलिन थालेपछि देशभर सुरक्षा निगरानी बढाइएको छ । तर प्रश्न उठ्छ, के नेपालमा यस्तो घटना पहिलो पटक भएको हो र ?
उत्तर : होइन ।
नेपालको इतिहासमा धार्मिक सद्भाव भड्काउने प्रयास पटकपटक भएका छन् ।
इतिहास
इतिहासका पाना पल्टाउँदा विक्रम संवत् २०१५ र २०१६ सालतिर महोत्तरीको भवारपुरमा ठूलो धार्मिक तनाव देखिएको उल्लेख छ । त्यसपछि २०१७ सालमा महोत्तरीकै अध्यनपुरमा अर्को हिंसात्मक घटना भयो । त्यस क्रममा दुई जनाको मृत्यु भयो भने आगजनी र तोडफोडका घटना भए ।
त्यसपछि २०२७ र २०२८ सालमा बारा र रौतहटमा गाई हत्याको विषयलाई लिएर झडप भए । तर तत्कालीन राज्य संयन्त्रले ती घटनालाई व्यापक रूपमा फैलिन दिएन ।
२०४७ सालपछि लोकतान्त्रिक व्यवस्था आयो । राजनीतिक स्वतन्त्रता बढ्यो । तर धार्मिक तनावका छिटपुट घटना भने रोकिएनन् ।
२०६१ साल भदौमा इराकमा १२ नेपालीको हत्या भएपछि देशभर हिंसात्मक प्रदर्शन भयो । आधुनिक नेपालको सबैभन्दा गम्भीर धार्मिक तनावमध्ये एक मानिने त्यो घटना करिब एक सातापछि मात्रै नियन्त्रणमा आएको थियो । त्यस क्रममा ठूलो धनजनको क्षति भएको थियो ।
त्यसयता कपिलवस्तु, रुपन्देही, दाङ, रौतहट, नेपालगञ्ज, सर्लाही र वीरगञ्जलगायत विभिन्न स्थानमा समय–समयमा धार्मिक तनाव दोहोरियो । कतै सामाजिक सञ्जालको पोस्ट कारण बन्यो, कतै धार्मिक जुलुस, कतै मूर्ति विसर्जन ।
तर एउटा कुरा भने समान रह्यो, हरेक घटनापछि राज्यले अवस्था नियन्त्रण गर्ने प्रयास गर्यो र समाज फेरि सामान्य अवस्थामा फर्कियो ।
जातीय सद्भावको पक्ष
नेपालको अर्को विशेषता जातीय सहअस्तित्व पनि हो । नेपालमा अहिलेसम्म जातीय गृहयुद्ध भएको इतिहास छैन । तर राजनीतिक आन्दोलन, पहिचानको राजनीति र विभिन्न आन्दोलनका क्रममा समाजमा ध्रुवीकरण र तनावका घटना भने देखिएका छन् ।
लिम्बुवान, खम्बुवान, थरुहट र मंगोल पहिचानका आन्दोलनका क्रममा केही क्षेत्रमा जातीय सम्बन्धमा तनाव उत्पन्न भएको चर्चा सार्वजनिक बहस र विश्लेषणमा पाइन्छ ।
त्यस्तै, मधेशमा ज्वाला सिंह र गोइत समूहका सशस्त्र गतिविधिका बेला मधेशी र पहाडी समुदायबीच सम्बन्ध बिग्रने खालका हिंसात्मक घटना भएका थिए ।
माओवादी सशस्त्र द्वन्द्वका क्रममा पनि जातीय अधिकारको बहससँगै समाजमा ध्रुवीकरण बढेको विश्लेषण विभिन्न पक्षबाट हुँदै आएको छ ।यद्यपि, यी सबै उतारचढावका बीच नेपालले आफ्नो सामाजिक एकतालाई पूर्ण रूपमा भत्किन दिएको छैन ।
यतिवेलाको सुनसरीको घटना एउटा जिल्लाको मात्र घटना होइन । यो नेपालको सामाजिक सहअस्तित्व, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको परीक्षा पनि हो । धर्मका नाममा समाजलाई भिडाउने प्रयास नयाँ होइन । जातका नाममा विभाजन गर्ने प्रयास पनि नयाँ होइन ।तर इतिहासले एउटा महत्त्वपूर्ण कुरा प्रमाणित गरेको छ, नेपालका जनता अन्ततः सद्भाव र सहअस्तित्वकै पक्षमा उभिएका छन् ।
यही कारण अहिले सबैभन्दा ठूलो जिम्मेवारी सरकार, राजनीतिक दल, सुरक्षा निकाय, नागरिक समाज र आम नागरिक सबैको काँधमा आएको छ । विशेषगरी सामाजिक सञ्जालमा फैलाइने अफवाह, घृणायुक्त अभिव्यक्ति र भ्रामक सामग्री समयमै नियन्त्रण गर्न सकिएन भने सानो विवादले पनि ठूलो रूप लिन सक्छ ।
इतिहासले सिकाएको एउटा गहिरो पाठ छ, दंगा सुरु हुन धेरै समय लाग्दैन । तर सद्भाव फर्काउन वर्षौँ लाग्न सक्छ । त्यसैले अहिले नेपालको आवश्यकता आरोप–प्रत्यारोप होइन, तथ्यमा आधारित संवाद हो । उत्तेजना होइन, संयमता हो । विभाजन होइन, सामाजिक एकता हो ।
नेपालको शक्ति यसको विविधतामा छ र त्यो विविधतालाई जोगाउनु नै आजको सबैभन्दा ठूलो राष्ट्रिय दायित्व हो ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया