Techie IT
KTM Post
मंगलबार, १२ साउन, २०८३

निर्वाचन आयोगको स्वतन्त्रता र निष्पक्षतामा सांसदहरूको जोड, प्रस्तावित आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ


काठमाडौं। संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि सिफारिश भएका गुरुप्रसाद वाग्ले (ओखलढुंगा) र डा. राजीव सुब्बा (काठमाडौं) को संसदीय सुनुवाइ सम्पन्न भएको छ। सुनुवाइ क्रममा सांसदहरूले निर्वाचन आयोगलाई थप स्वतन्त्र, निष्पक्ष र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले निर्वाचन आयोगको भूमिका केवल चुनाव गराउने कार्यमा मात्र सीमित नभई यसलाई संस्थागत रूपमा अझ सुदृढ र स्वतन्त्र बनाउनुपर्ने बताए। समय र परिवर्तनसँगै आयोगको कार्यशैलीमा पनि नयाँ सुधार ल्याउन आवश्यक रहेको उनको भनाइ थियो।यसैगरी, समिति सदस्य प्रेमप्रसाद दङ्गालले प्रस्तावित पदाधिकारीहरूले पेस गर्ने अवधारणा र कार्ययोजना केवल कागजमा सीमित नभई मापनयोग्य र नतिजामुखी हुनुपर्ने धारणा राखे। उनले आगामी निर्वाचनमा व्यापक सुधार नै प्रमुख एजेन्डा हुनुपर्ने र समितिमा गरिएका प्रतिबद्धताहरूलाई व्यवहारमा उतार्नुपर्ने उल्लेख गरे।

नेकपा (एमाले) की सांसद पद्मा अर्यालले प्रस्तावित आयुक्त गुरुप्रसाद वाग्लेले सुनुवाइअघि नै पेस गरेको अवधारणा पत्र र प्रस्तुति सकारात्मक रहेको बताइन्। वाग्लेको बायोडाटामा सहायक निर्वाचन अधिकृतदेखि निर्वाचन अधिकृतसम्मको अनुभव रहेकाले त्यसलाई सबल पक्षका रूपमा लिन सकिने उनको भनाइ थियो।

अर्यालले नियमित कामबाहेक नयाँ सुधारका विषयहरू प्रस्तुत गरिए पनि तिनलाई कार्यान्वयन गर्ने ठोस आधार अझै प्रस्ट हुनुपर्ने औंल्याइन्। साथै, आजको मुख्य चुनौती निष्पक्ष निर्वाचन गराउनु नै रहेको भन्दै उनले निर्वाचनका बेला विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई परिचालन गर्दा देखिने व्यावहारिक जटिलताहरूतर्फ आयोगको ध्यानाकर्षण गराइन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट