Techie IT
KTM Post
मंगलबार, १२ साउन, २०८३

स्वास्थ्यकर्मीमाथि बढ्दो आक्रमण रोक्न सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाइँदै


काठमाडौं । स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमण तथा स्वास्थ्य संस्थामा हुने तोडफोडका घटनालाई नियन्त्रण गर्न सरकारले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति’लाई पुनः सक्रिय बनाउने तयारी अघि बढाएको छ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ अनुसार गठन गरिएको उक्त समितिलाई प्रभावकारी रूपमा सञ्चालन गरी स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्ने प्रक्रिया सुरु गरिएको जनाएको छ। लामो समयदेखि निष्क्रिय रहेको समितिलाई नियमित बैठक र समन्वयमार्फत सक्रिय बनाउने तयारी गरिएको मन्त्रालयको भनाइ छ।

नारायणी अस्पतालमा कार्यरत एक चिकित्सकमाथि हालै भएको आक्रमणपछि स्वास्थ्यकर्मीहरूको सुरक्षाबारे व्यापक चासो बढेको छ। सो घटनापछि स्वास्थ्यकर्मीहरूले सुरक्षाको प्रत्याभूति र विद्यमान कानुनी व्यवस्थाको कडाइका साथ कार्यान्वयनको माग गर्दै आएका छन्।ऐनले समितिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी योजना र कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्ने, गृह मन्त्रालयसहित सम्बन्धित निकायसँग समन्वय गर्ने तथा सुरक्षा नीतिका विषयमा सरकारलाई सुझाव दिने अधिकार दिएको छ।

त्यस्तै, सुरक्षामा असर पार्ने घटनाको छानबिन गर्ने वा गराउने, अनुसन्धानमा आवश्यक सहयोग पुर्‍याउने तथा अदालतको आदेशअनुसार पीडितलाई उपलब्ध गराइने क्षतिपूर्ति कार्यान्वयन गराउने जिम्मेवारी पनि समितिकै रहने व्यवस्था छ।

समितिको अध्यक्षता मन्त्रालयका सचिवले तोकेको बाह्रौँ तहको कर्मचारीले गर्नेछन् भने सम्बन्धित महाशाखा प्रमुख उपाध्यक्ष रहनेछन्। समितिमा गृह मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ, नेपाल आयुर्वेद चिकित्सक संघ, नेपाल नर्सिङ संघ तथा एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपालका प्रतिनिधिहरू सदस्य रहने कानुनी व्यवस्था छ। मन्त्रालयले तोकेको राजपत्राङ्कित द्वितीय श्रेणी वा सोसरहका अधिकृतले सदस्य–सचिवको जिम्मेवारी सम्हाल्नेछन्।

मन्त्रालयका अनुसार समितिलाई सक्रिय बनाएर तत्काल देखिएका सुरक्षा चुनौती समाधान गर्नुका साथै स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी दीर्घकालीन नीतिगत व्यवस्था थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट