Techie IT
KTM Post
मंगलबार, १२ साउन, २०८३

कृषि विकास बैंक र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच सहकार्य, अनुसन्धानदेखि उद्यमशीलता विकाससम्म संयुक्त पहल


काठमाडौं । कृषि विकास बैंक लिमिटेड र कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू), चितवनबीच कृषि अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।समझदारीपत्रमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिराम कट्टेलले हस्ताक्षर गरेका हुन्।

सम्झौतामा हस्ताक्षर कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईं र सुदीप दाहाल, विभागीय प्रमुख वीना शर्मा, निकु आचार्य, वरिष्ठ शाखा प्रमुख महेश्वर मरहट्टालगायत बैंकका अधिकारी तथा विश्वविद्यालयका योजना निर्देशनालयका निर्देशक डा. रामहरि तिमिल्सिना उपस्थित थिए।समझदारीअनुसार दुवै संस्थाले कृषि तथा वन क्षेत्रको अनुसन्धान, नवप्रवर्तन, व्यावसायिक कृषि विकास, उद्यमशीलता प्रवर्द्धन, सीप विकास तथा बैंकिङ क्षेत्र र शैक्षिक संस्थाबीचको सहकार्यलाई थप सुदृढ बनाउन संयुक्त रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्नेछन्।

यस सहकार्यअन्तर्गत कृषि विकास बैंकले विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक तथा कर्मचारीलाई वित्तीय साक्षरता, व्यवसाय योजना निर्माण, उद्यम विकास, बैंकिङ तथा वित्तीय परामर्श सेवा उपलब्ध गराउनेछ। साथै अनुसन्धान अनुदान, इन्टर्नशिप तथा उद्यमशीलता विकास कार्यक्रममार्फत पनि सहयोग गर्ने सहमति भएको छ।

विश्वविद्यालयमा सञ्चालित बिजनेस इन्क्युबेशन सेन्टर, कृषि नवप्रवर्तन तथा स्टार्टअप प्रवर्द्धनका कार्यक्रमलाई आवश्यक प्राविधिक तथा वित्तीय सहयोग उपलब्ध गराउने विषय पनि सम्झौतामा समेटिएको छ।समझदारीपत्रअनुसार कृषि वित्त, जलवायु वित्त, ग्रामीण बैंकिङ, मूल्य शृङ्खला विकास, बजार पहुँच विस्तार, अनुसन्धान तथा प्रविधि हस्तान्तरण, संयुक्त तालिम, गोष्ठी, कार्यशाला, प्रदर्शनी र जनचेतनामूलक कार्यक्रम सञ्चालनमा समेत दुवै संस्था मिलेर काम गर्नेछन्।

दुवै संस्थाको सहकार्यबाट कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन, रोजगारीका अवसर सिर्जना तथा दिगो कृषि विकासमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।कृषि विकास बैंकले यस साझेदारीमार्फत कृषि अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतालाई थप गति दिँदै आधुनिक, प्रतिस्पर्धी तथा दिगो कृषि प्रणाली निर्माणमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट