मध्यपूर्वमा फेरी बढ्यो तनाव, नेपाल एयरलाइन्सले गर्यो उडान रद्ध
काठमाडौं । मध्यपूर्वमा अमेरिका र इरानबीच बढ्दो सैन्य तनाव र संयुक्त अरब इमिरेट्स (युएइ) मा भएको पछिल्लो आक्रमणका कारण नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्ना महत्वपूर्ण उडानहरू रद्द गरेको छ।
इरानले सोमबार साँझ युएईका विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गरेपछि उत्पन्न असुरक्षाका कारण नेपाल एयरलाइन्सले दुबई र दमामका उडानहरू स्थगित गर्ने निर्णय गरेको हो।
नेपाल एयरलाइन्सले मे ६ र ७ तारिखका लागि तय गरिएका उडानहरू रद्द भएको जानकारी गराउँदै सुरक्षा अवस्थाको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। खाडी मुलुकमा वैदेशिक रोजगारीका लागि जाने तयारीमा रहेका सयौं नेपाली श्रमिकहरू यो निर्णयबाट प्रत्यक्ष प्रभावित भएका छन्। उडान रद्द भएसँगै विमानस्थल पुगेका यात्रुहरू अन्योलमा परेका छन्।
दुबईको आकाशमा सुरक्षा जोखिम बढेपछि नेपाल एयरलाइन्स मात्र होइन, विश्वका अन्य प्रमुख विमान कम्पनीहरूले पनि आफ्ना सेवाहरू कटौती वा स्थगित गरेका छन् ।
एयर फ्रान्स र केएलएमले दुबई र रियादका उडानहरू मे १० सम्मका लागि, स्विस एयरले सुरक्षा स्थितिको समीक्षा गर्दै दुबई उडानहरू जुलाई ११ सम्मका लागि बन्द गरेको छ। यसैगरी क्याथे प्यासिफिकले दुबई र रियादका लागि जुन ३० सम्म उडान रद्द गरेको घोषणा गरेको छ।
लफ्थान्सा ग्रुपले आफ्ना सबै सहायक कम्पनीहरू अस्ट्रियन, इटालियन एयरवेजका दुबई उडानहरू रद्द गरेको छ। एयर क्यानडाले सेप्टेम्बर ७ सम्मका लागि दुबई र तेल अवीवको उडान स्थगित गरेको छ।
गत अप्रिल ८ मा भएको युद्धविराम सम्झौतालाई अमेरिकी पक्षबाट उल्लंघन गरिएको भन्दै इरानले सोमबार साँझ युएईमा भीषण आक्रमण गरेको छ। इरानले युएईतर्फ १२ वटा ब्यालेस्टिक मिसाइल, ३ वटा क्रुज मिसाइल र ४ वटा ड्रोन प्रहार गरेको पुष्टि भएको छ। युएईको रक्षा प्रणालीले अधिकांश मिसाइलहरू खसाले पनि केही क्षति पुगेको छ। इरानको ड्रोन आक्रमणले फुजैराहको पेट्रोलियम उद्योग क्षेत्रमा आगलागी गराएको छ। उक्त घटनामा तीन जना भारतीय नागरिक घाइते भएको र उनीहरूको अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन्।
फेब्रुअरी २८ देखि सुरु भएको इरानी आक्रामक गतिविधिमा हालसम्म युएईतर्फ ५४९ ब्यालेस्टिक मिसाइल, २९ क्रुज मिसाइल र २,२६० भन्दा बढी ड्रोनहरू प्रहार भइसकेका छन्।
विश्वका नेताहरूले मध्यपूर्वमा बढ्दै गएको यो हिंसाको निन्दा गरेका छन्। शान्ति प्रस्तावका लागि वार्ता भइरहे पनि युद्धको तिक्तता कम नहुँदा अन्तर्राष्ट्रिय हवाई मार्गहरू असुरक्षित बन्दै गएका छन्, जसको प्रत्यक्ष मारमा नेपालजस्ता श्रम गन्तव्यमा निर्भर देशका नागरिकहरू परिरहेका छन्।
क्याटेगोरी : समाचार













प्रतिक्रिया