एक्सट्रीमको बजार आतंक
काठमाडौं । पछिल्लो समय ‘एक्सट्रीम’ इनर्जी ड्रिंकको व्यापक प्रचार–प्रसारसँगै बजारमा यसको प्रभाव अस्वाभाविक रूपमा बढाइएको देखिन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि त्यसका प्रवेशद्वारसम्म हेर्दा नेपाल नै एक्सट्रीमको प्रचारले ढाकिएको अनुभूति हुने अवस्था सिर्जना गरिएको छ।
आफ्नै देशका मौलिक पेय पदार्थलाई बेवास्ता गर्दै एउटा विदेशी ब्रान्डलाई यसरी बजारमा हाबी हुन दिनुमा नियामक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मात्रै होइन, केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारहरूको समेत मिलेमतो त छैन भन्ने प्रश्न उठ्न थालेको छ। सडक, चोक, गल्ली, रेस्टुरेन्ट, होटल, भट्टीदेखि चिया पसलसम्म यसको होर्डिङ बोर्डले भरिएका छन्।
होर्डिङ बोर्ड र मिडिया प्रचारमा अर्बौं रुपैयाँ खर्च भइरहेको चर्चा भइरहेका बेला यसको उत्पादन मापदण्ड, कम्पनीको विश्वसनीयता, विदेशी कम्पनीसँगको सम्बन्ध, प्रयोग गरिएका रसायन तथा समग्र गुणस्तरबारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन। सरकारी निकायहरूले पनि यसबारे पर्याप्त जानकारी दिन आवश्यक ठानेका छैनन्।
विशेषज्ञहरूका अनुसार यस्ता इनर्जी ड्रिंक कार्बोनेटेड पेय पदार्थ हुन्, जसलाई तत्काल ऊर्जा र स्फूर्ति दिने उद्देश्यले बजारमा ल्याइन्छ। तर अत्यधिक क्याफिनयुक्त पेय पदार्थको नियमित वा बढी सेवन स्वास्थ्यका लागि हानिकारक हुन सक्ने चेतावनी स्वास्थ्यविद्हरूले दिँदै आएका छन्।
तर, एक्सट्रीमको प्रचार–प्रसारमा भने स्वास्थ्यसम्बन्धी कुनै चेतावनी समावेश गरिएको देखिँदैन। त्यसैले यसको आक्रामक बजार विस्तारमा ठूलो आर्थिक चलखेल र उच्च तहसम्मको पहुँच प्रयोग भएको आशंका समेत व्यक्त हुन थालेको छ।
यसैबीच, हालै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले पोखरास्थित फिस्टेल डेरी प्रालि द्वारा उत्पादित ‘नोभा’ ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अनुपयुक्त ठहर गर्दै बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको थियो।
विभागका अनुसार बजार अनुगमनका क्रममा संकलित नमुना परीक्षण गर्दा उक्त आइसक्रिम गुणस्तरहीन भेटिएको हो। प्रयोगशालामा गरिएको परीक्षणमा टोटल ब्याक्टेरिया काउन्ट, कोलिफर्म काउन्ट तथा इन्टेरोब्याक्टेरिएसी काउन्टजस्ता हानिकारक जीवाणु मापदण्डभन्दा बढी फेला परेको जनाइएको छ।यस्तो अवस्थामा ‘एक्सट्रीम’ इनर्जी ड्रिंक पनि स्वास्थ्यका दृष्टिले सुरक्षित छ कि छैन भन्ने प्रश्न सर्वसाधारण तहमा उठ्न थालेको छ।
क्याटेगोरी : अर्थ












प्रतिक्रिया