मरिणमा राँगा मासु प्रशोधन उद्योगविरुद्ध स्थानीय युवाको संघर्ष, पारदर्शिता र जनअधिकार सुनिश्चित गर्न माग
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका–६ मा सञ्चालनको तयारीमा रहेको राँगा मासु प्रशोधन उद्योगविरुद्ध स्थानीय युवाहरूले संयुक्त संघर्ष समिति गठन गर्दै विभिन्न माग सार्वजनिक गरेका छन् । “संयुक्त मरिण युवा संघर्ष समिति” नामक समूहले शुक्रबार ध्यानाकर्षण गर्दै उद्योग सञ्चालन प्रक्रियामा पारदर्शिता, स्थानीय जनअधिकार र प्राकृतिक स्रोतको संरक्षण सुनिश्चित गर्न माग गरेको हो ।
समितिले हिमालयन फुड्स एन्ड बिफ फुड्स कम्पनी प्रालिलाई सम्बोधन गर्दै उद्योग स्थापनाको नाममा स्थानीय जनताको विश्वासमाथि खेलबाड भएको आरोप लगाएको छ । विज्ञप्तिमा सुरुवातमा उद्योगले विकास, रोजगारी, आर्थिक उन्नति र समृद्धिको सपना देखाए पनि व्यवहारमा भने प्राकृतिक स्रोतको दोहन, सीमित समूहको स्वार्थ र स्थानीय समुदायलाई विभाजन गर्ने गतिविधि बढेको उल्लेख गरिएको छ ।
संघर्ष समितिका अनुसार उद्योगसँग सम्बन्धित निर्णय प्रक्रिया पारदर्शी नभएको, जग्गा खरिद–बिक्री, सार्वजनिक तथा ऐलानी जग्गाको प्रयोग, ढुवानी, ठेक्का तथा रोजगारीका विषयमा स्थानीय समुदायलाई पर्याप्त जानकारी नदिइएको गुनासो गरिएको छ । साथै, केही व्यक्तिहरूले व्यक्तिगत लाभका लागि स्थानीय युवालाई प्रयोग गरेर समाजमा विभाजन र अविश्वास सिर्जना गरेको आरोप पनि विज्ञप्तिमा लगाइएको छ ।

समितिले उद्योगसँग सम्बन्धित सम्पूर्ण सम्झौता, कानुनी प्रक्रिया, वातावरणीय अध्ययन, प्राकृतिक स्रोत उपयोग र आर्थिक कारोबार सार्वजनिक गर्न माग गरेको छ । त्यस्तै, सार्वजनिक सुनुवाइ तथा स्थानीय जनतासँग नियमित संवादको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।
विज्ञप्तिमा स्थानीय स्तरमा कम्प्युटर, टिपर, एक्साभेटर, ब्याकलोडर, मिनिर ट्रकजस्ता साधन भएका युवा तथा व्यवसायीलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ । साथै, मरिण क्षेत्रका युवालाई दक्षताअनुसार उद्योगमा रोजगारीको सुनिश्चितता गर्नुपर्ने माग राखिएको छ ।
संघर्ष समितिले प्राकृतिक स्रोत–साधनको जथाभावी उत्खनन रोक्न र त्यसको कडा निगरानी गर्न आग्रह गरेको छ । व्यवस्थापन र सञ्चालनमा रहेका व्यक्तिहरूले स्थानीय समुदायमाथि डर, त्रास र विभाजनको राजनीति नगर्न चेतावनी दिँदै पारदर्शिता र जनसहभागिता बिना कुनै पनि विकास परियोजना सफल हुन नसक्ने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा “विकासको नाममा प्राकृतिक स्रोतको लुट र स्थानीय अधिकारको दमन स्वीकार्य नहुने” उल्लेख गर्दै जनसहभागिता, सामाजिक उत्तरदायित्व र वातावरणीय सन्तुलन कायम गर्न कम्पनीलाई आग्रह गरिएको छ ।
संयुक्त मरिण युवा संघर्ष समितिको विज्ञप्तिमा दीपक मगर, अशोक लामा, संघर्ष लामा र सन्तोष नेपालीलगायतका प्रतिनिधिहरूको अगुवाइ रहेको समितिले स्थानीय जनताको भावना, वातावरणीय सन्तुलन र जनअधिकारलाई बेवास्ता गरिए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी समेत दिएको छ ।

क्याटेगोरी : समाचार













प्रतिक्रिया