Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

डीडीसीको बक्यौता भुक्तानी सुरु, किसानले दैनिक पाउँदैछन् १ करोड रुपैयाँ


काठमाडौं । दुग्ध विकास संस्थान ९डीडीसी० ले किसानलाई तिर्न बाँकी रकम भुक्तानी प्रक्रिया तीव्र बनाएको छ। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको पहलपछि दैनिक रूपमा करिब १ करोड रुपैयाँ किसानलाई भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो चार महिनादेखि रोकिएको करिब ५८ करोड रुपैयाँ बक्यौता रकममध्ये हालसम्म १२ करोड रुपैयाँ किसानको खातामा पठाइसकिएको छ। बाँकीमध्ये एक महिनाको रकम आगामी १३ गतेभित्र भुक्तानी गर्ने तयारी गरिएको मन्त्रालय स्रोतले जनाएको छ।
हाल डीडीसीको दैनिक कारोबार पनि करिब १ करोड रुपैयाँ हाराहारीमा रहेको छ। सोही कारोबारबाट संकलित रकम नियमित रूपमा किसानलाई भुक्तानी गरिँदै आएको बताइएको छ।
मन्त्रालयका अनुसार अझै बाँकी रहेको करिब ४६ करोड रुपैयाँ आगामी दुई महिनाभित्र चरणबद्ध रूपमा भुक्तानी गरिनेछ।
मन्त्री चौधरीले दुग्ध किसानको श्रमको उचित सम्मान गर्दै उनीहरूको समस्या समाधानलाई सरकारको प्राथमिकतामा राखिएको बताएकी छन्। किसानको हित संरक्षणका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको उनको भनाइ छ।
दैनिक भुक्तानी प्रक्रिया नियमित बन्दै गएसँगै लामो समयदेखि रकम नपाएर समस्यामा परेका किसानलाई केही राहत मिल्न थालेको छ। सरकारले दुग्ध क्षेत्रको आर्थिक व्यवस्थापन सुधार गर्दै संस्थानलाई थप व्यवस्थित बनाउने तयारी समेत अघि बढाएको जनाएको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट