पेनाल्टीमा आर्सनललाई हराउँदै पिएसजी च्याम्पियन्स लिग च्याम्पियन
काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन ९पिएसजी० ले युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ। बुडापेस्टमा शनिबार राति सम्पन्न फाइनलमा आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पिएसजीले लगातार दोस्रो पटक प्रतिष्ठित उपाधि आफ्नो नाममा गरेको हो।
खेलको पाँचौं मिनेटमै काई हार्भेजको गोलमार्फत आर्सनलले अग्रता बनाएको थियो। तर उक्त अग्रता जोगाउन नसक्दा इंग्लिस क्लबको पहिलो च्याम्पियन्स लिग उपाधि जित्ने सपना अधुरै रह्यो।
दोस्रो हाफको ६१औँ मिनेटमा पिएसजीले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई उस्मान डेम्बेलेले सदुपयोग गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए।
त्यसपछि निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेलमा थप गोल नहुँदा विजेताको टुंगो पेनाल्टी सुटआउटबाट गरिएको थियो।
पेनाल्टीमा आर्सनलका इबेरेची इजले प्रहार चुकाउँदा टोली दबाबमा परेको थियो। यद्यपि पिएसजीका नुनो मेन्डिजको प्रहार गोलरक्षक डेविड रायाले रोकेपछि प्रतिस्पर्धा जीवित बनेको थियो।
तर निर्णायक क्षणमा आर्सनलका ग्याब्रियलले पेनाल्टी खेर फालेपछि पिएसजीले उपाधि उचाल्न सफल भयो। यससँगै पिएसजीले युरोपेली क्लब फुटबलमा आफ्नो प्रभुत्वलाई थप मजबुत बनाएको छ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया