विश्वकप २०२६ मा समय खेर फाल्नेमाथि फिफाको कडा कदम, नयाँ नियम लागू हुने
काठमाडौं । आगामी फिफा विश्वकप २०२६ लाई अझ तीव्र र व्यवस्थित बनाउन अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले खेलमा अनावश्यक ढिलाइ गर्ने प्रवृत्तिमाथि कडाइ गर्ने भएको छ। यसका लागि रेफ्रीहरूलाई विशेष निर्देशन जारी गरिएको छ।
फिफाका रेफ्री प्रमुख पिएरलुइजी कोलिनाका अनुसार खेलको गति कायम राख्दै समय खेर फाल्ने गतिविधिलाई न्यूनतम बनाउने उद्देश्यले नयाँ व्यवस्था लागू गर्न लागिएको हो।
नयाँ नियमअनुसार गोलकिक वा थ्रो-इन लिन खेलाडीले अनावश्यक ढिलाइ गरेमा रेफ्रीले पाँच सेकेन्डको दृश्यात्मक गणना सुरु गर्न सक्नेछन्। निर्धारित समयभित्र गोलकिक नलिए विपक्षी टोलीलाई कर्नर प्रदान गरिनेछ भने थ्रो-इनमा ढिलाइ भए बल विपक्षी टोलीलाई सुम्पिने व्यवस्था गरिएको छ।
त्यस्तै, प्रतिस्थापन गरिएका खेलाडीले १० सेकेन्डभित्र मैदान छाड्नुपर्नेछ। चोटपटक वा सुरक्षासम्बन्धी विशेष अवस्थाबाहेक ढिलाइ गर्न नपाइने फिफाले जनाएको छ।
खेलाडीको व्यवहारसम्बन्धी नियम पनि थप कडा बनाइएको छ। मुख छोपेर आक्रामक वा विवादास्पद शैलीमा विपक्षी खेलाडी वा रेफ्रीसँग संवाद गरेको पाइएमा सम्बन्धित खेलाडीलाई रातो कार्ड देखाउन सकिनेछ। यद्यपि सामान्य संवादका क्रममा मुख छोपिएको अवस्थालाई भने कारबाहीको आधार मानिने छैन।
भिडियो सहायक रेफ्री (भीएआर) को प्रयोगसम्बन्धी प्रावधान पनि थप स्पष्ट पारिएको छ। गलत रूपमा दोस्रो पहेँलो कार्डपछि दिइएको रातो कार्ड, गलत खेलाडीलाई कार्ड देखाइएको अवस्था तथा केही गलत कर्नर निर्णयहरूको समीक्षा गर्न भीएआर प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
यद्यपि खेलको गति बढाउने लक्ष्य राखिए पनि खेलाडीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै विश्वकपका प्रत्येक खेलमा दुवै हाफको मध्यभागमा तीन मिनेटको पानी पिउने विश्राम दिइने फिफाले जनाएको छ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया