दिल्ली पुगेका रास्वपा सभापति लामिछानेको भाजपा नेताहरूद्वारा स्वागत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा उनी सोमबार टोलीसहित त्यसतर्फ प्रस्थान गरेका हुन्।
दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ सभापति लामिछानेलाई भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन्।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार लामिछानेले जेठ १८ देखि २२ गतेसम्म भारतको भ्रमण गर्नेछन्। भ्रमणका क्रममा नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ताहरू गर्ने कार्यतालिका रहेको छ।
उनले भाजपाको उच्च नेतृत्व, भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। नयाँ दिल्लीको राजनीतिक भेटघाट सकिएपछि उनले उत्तर प्रदेशस्थित अयोध्याको भ्रमण समेत गर्ने प्रवक्ता झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
भ्रमण टोलीमा सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री एवं प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, उनकी पत्नी निकिता पौडेल र नेता प्रदीप आचार्य रहेका छन्।
रवि लामिछानेको यो भ्रमणका क्रममा हुने सम्पूर्ण भेटघाट, छलफल तथा भ्रमण तालिकाको समन्वय नयाँ दिल्लीस्थित नेपाली दूतावासले गरिरहेको रास्वपालेजनाएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया