संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव, के–के छन् मुख्य विषय ?
काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदललाई नागरिकबाट ४४ हजार ६ सय १३ वटा सुझाव प्राप्त भएका छन्। कार्यदलले संविधानमा आवश्यक सुधार तथा संशोधनका विषयमा नेपाली नागरिकसँग लिखित सुझाव माग गरेपछि ठूलो संख्यामा प्रतिक्रिया आएको हो।
कार्यदलको सचिवालयले जेठ ८ गते सार्वजनिक सूचना जारी गर्दै इच्छुक नागरिकलाई आफ्ना धारणा र सुझाव पठाउन आह्वान गरेको थियो। त्यसपछि इमेल र ह्वाट्सएपमार्फत हजारौं सुझाव प्राप्त भएको कार्यदलले जनाएको छ।
कार्यदलका सदस्यसचिव लीलाधर सुवेदीका अनुसार १९ हजार २ सय ३९ सुझाव इमेलमार्फत तथा २५ हजार ३ सय ७४ सुझाव ह्वाट्सएपमार्फत प्राप्त भएका छन्। संविधान संशोधन प्रक्रियामा आम नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सुझाव संकलन गरिएको उनले बताए।
प्राप्त सुझावहरूमा कार्यकारी राष्ट्रपतिको व्यवस्था, संघीय संरचनाको पुनरावलोकन, संवैधानिक निकायहरूको पुनःसंरचना, निर्वाचन प्रणालीमा सुधार तथा न्यायपालिकामा प्रतिस्पर्धात्मक प्रक्रियाबाट न्यायाधीश नियुक्तिको व्यवस्था प्रमुख रूपमा उठाइएका छन्। साथै जनप्रतिनिधिको योग्यता र मापदण्ड स्पष्ट गर्नुपर्ने विषय पनि नागरिकले जोडतोडका साथ उठाएका छन्।
कार्यदलले प्राप्त सबै सुझावको अध्ययन तथा विश्लेषण गरिरहेको जनाएको छ। संविधान संशोधनसम्बन्धी आगामी बहस र सिफारिसमा यी सुझावहरूलाई आधार बनाइने अपेक्षा गरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया