Techie IT
KTM Post
मंगलबार, १९ जेठ, २०८३

सामान्य बिरामीको आकस्मिक सेवामा उपचार गर्दा निजी स्वास्थ्य संस्थाले बीमा दाबी भुक्तानी नपाउने


काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निजी स्वास्थ्य संस्थाले सामान्य बिरामीको आकस्मिक सेवाअन्तर्गत उपचार गरेमा बीमा दाबी भुक्तानी नपाउने भएका छन्।

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य सेवा प्रदाक संस्थाका नाममा आज जेठ १८ गते एउटा परिपत्र जारी गर्दै स्वास्थ्य बीमा बोर्डले यस्तो निर्णय गरेको हो। बीमा बोर्डले जेठ १२ गते निर्णयलाई आधार मान्दै यस्तो निर्णय गरिएको जानकारी गराएको छ।

गत जेठ १२ गते बीमा बोर्डले वित्तीय संकटलाई ध्यानमा राख्दै निजी अस्पतालबाट आकस्मिक सेवाबाहेकका अन्य स्वास्थ्य बीमा सेवा स्थगित गरेको थियो। तर, निजी स्वास्थ्य संस्थामा आकस्मिक सेवामार्फत स्वास्थ्य बीमाको सेवा लिन बीमितको भीड बढ्न थालेपछि बोर्डले यो परिपत्र जारी गरेको हो।

परिपत्रमा जेठ १२ गतेको निर्णय कार्यान्वयनका क्रममा कुनै बिरामीको स्वास्थ्य अवस्थामा आकस्मिक उपचार आवश्यक पर्ने प्रकृतिको देखिएमा मात्र आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न निजी स्वास्थ्य संस्थालाई निर्देशन दिइएको छ। त्यस्ता आकस्मिक बिरामीलाई उपचारका क्रममा भर्ना (आईपीडी) वा शल्यक्रिया (ओटी)समेत आवश्यक पर्ने भएमा उपचार उद्धतिअनुसार उपचार गरी डिस्चार्ज गर्न सकिने बोर्डले जनाएको छ।


क्याटेगोरी : स्वास्थ्य/जीवन शैली

प्रतिक्रिया


ताजा अपडेट