अस्वस्थ जीवनशैलीले बढ्दै उच्च रक्तचाप
काठमाडौं । नेपालमा अस्वस्थकर खानपान र बदलिँदो जीवनशैलीका कारण उच्च रक्तचापका बिरामीको संख्या निरन्तर बढ्दै गएको स्वास्थ्य विज्ञहरूले बताएका छन्।
स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। अनुज भट्टचनका अनुसार अत्यधिक नुन तथा चिल्लो पदार्थको सेवन, शारीरिक निष्क्रियता, धूम्रपान, मद्यपान, मानसिक तनाव, वायु प्रदूषण र तीव्र सहरीकरणका कारण उच्च रक्तचापको जोखिम बढिरहेको छ।
उनका अनुसार हाल नेपालका वयस्क नागरिकमध्ये करिब २४।५ प्रतिशतमा उच्च रक्तचापको समस्या देखिएको छ।
नेपालमा कुल मृत्युको झन्डै ७० प्रतिशत हिस्सा नसर्ने रोगका कारण हुने गरेको तथ्यांकले देखाएको छ। तीमध्ये मुटु तथा रक्तनलीसम्बन्धी रोगबाट हुने मृत्यु दर २७।३६ प्रतिशत रहेको स्वास्थ्य क्षेत्रका अधिकारीहरूले बताएका छन्।
विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार विश्वभर करिब १।४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित छन् र यो संख्या हरेक वर्ष बढ्दो क्रममा रहेको छ।
स्वास्थ्य विज्ञहरूका अनुसार उच्च रक्तचापबाट प्रभावित धेरै व्यक्तिलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी नै हुँदैन। उपचार र नियन्त्रण सम्भव हुँदाहुँदै पनि चार जनामध्ये एक जनाको मात्र रक्तचाप नियन्त्रणमा रहेको बताइएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नियमित शारीरिक व्यायाम, स्वस्थ खानपान र तनाव व्यवस्थापनलाई प्राथमिकता दिन नागरिकलाई आग्रह गरेको छ। मन्त्रालयले दैनिक कम्तीमा ३० देखि ४५ मिनेट व्यायाम गर्न, धूम्रपान तथा मद्यपानबाट टाढा रहन, पर्याप्त निद्रा लिन र मानसिक तनाव नियन्त्रणमा ध्यान दिन सुझाव दिएको छ।
स्वास्थ्यकर्मीहरूले समयमै रक्तचाप परीक्षण गराउने र जीवनशैली सुधारतर्फ ध्यान दिन सके उच्च रक्तचापबाट हुने जटिल स्वास्थ्य समस्या रोक्न सकिने बताएका छन्।
क्याटेगोरी : स्वास्थ्य/जीवन शैली













प्रतिक्रिया