डिजिटल रूपान्तरण र साइबर सुरक्षामा सहकार्य विस्तार गर्न संयुक्त राष्ट्रसंघ र सरकारबीच छलफल
काठमाडौँ । नेपालस्थित संयुक्त राष्ट्रसंघका विभिन्न निकायका प्रतिनिधिहरूले सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनासँग भेट गर्दै डिजिटल रूपान्तरण, साइबर सुरक्षा, मिडिया सुधार र सेवा प्रवाह सुदृढीकरणका विषयमा छलफल गरेका छन्।शुक्रबार सञ्चार मन्त्रालयमा भएको भेटमा संयुक्त राष्ट्रसंघीय प्रतिनिधिहरूले विद्युतीय शासन, साइबर अपराध नियन्त्रण, डिजिटल साक्षरता, पत्रकार सुरक्षा तथा प्रविधिमैत्री सेवा प्रवाहमा सहकार्य बढाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले गलत सूचना र दुष्प्रचार नियन्त्रण, सामाजिक सञ्जालको सुरक्षित प्रयोग तथा महिलाहरू र बालबालिकाको डिजिटल सुरक्षाबारे पनि चासो व्यक्त गरेका छन्।
बैठकमा डिजिटल प्रणाली विस्तार, नागरिक एप, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली र हेलो सरकारजस्ता सेवामा भइरहेको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो।जवाफमा सञ्चारमन्त्री डा। तिमिल्सिनाले डिजिटल रूपान्तरण सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको उल्लेख गर्दै साइबर सुरक्षा, मिडिया क्षेत्र सुधार, पत्रकार सुरक्षा तथा संस्थागत क्षमता विकासका क्षेत्रमा संयुक्त राष्ट्रसंघीय निकायसँग सहकार्य विस्तार गरिने बताए।
उनले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै गलत सूचना नियन्त्रण, तथ्य परीक्षणसम्बन्धी तालिम, डिजिटल पूर्वाधार विकास र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
क्याटेगोरी : समाचार













प्रतिक्रिया