Techie IT
KTM Post
शुक्रबार, २२ जेठ, २०८३

लुम्बिनीले जित्यो चौथो राष्ट्रिय डोरी तान प्रतियोगिता


काठमाडौं । चौथो राष्ट्रिय डोरी तान प्रतियोगिता लुम्बिनी प्रदेशले जितेको छ । पाँच प्रदेशको टिम र दुईवटा विभागीय टोली सम्मिलित प्रतियोगिताको फाइनल खेलमा सशस्त्र प्रहरीलाई २–१ सेटले हराउँदै लुम्बिनीले राष्ट्रिय डोरी तानको चौथो संस्करणको उपाधि जितेको हो ।

सात टिमको लिग चरणबाट छनोट भएका चार टिममध्ये सेमिफाइनलमा सशस्त्र प्रहरीले कोसी प्रदेशलाई जितेको थियो भने लुम्बिनीले नेपाल प्रहरीलाई जितेर फाइनल प्रवेश गरेको थियो ।

फाइनलको पहिलो सेटमा लुम्बिनीले एपीएफलाई एक मिनेट नौ सेकेन्डमा आफूतर्फ तानेको थियो । दोस्रो सेटमा सशस्त्र प्रहरीले लुम्बिनीलाई ४५ सेकेन्डमा आफूतर्फ तान्न सफल भएको थियो । पहिलो दुई सेट बराबर भएपछि उपाधिका लागि तेस्रो सेट खेलाइएको थियो । तेस्रो सेटमा लुम्बिनीले सशस्त्र प्रहरीलाई ५० सेकेन्डमा आफूतर्फ तानेर खेल जितेको चिफ जज सन्तोष तामाङले बताए ।

प्रतियोगिताको समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहेताले विजेता लुम्बिनी प्रदेश टोलीलाई ट्रफीसहित एक लाख रुपैयाँ प्रदान गरे । साथै, उपविजेता सशस्त्र प्रहरीको टोलीलाई ट्रफीसहित ५० हजार प्रदान गरेको नेपाल डोरी तान संघका महासचिव बिमल पौडेलले जानकारी दिए ।

 


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


ताजा अपडेट