‘लू’ को जोखिम बढ्यो, कसरी बच्ने ?
काठमाडौं । विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर ‘लू’ को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक शतर्कता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले मनसुनसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेको बताउँदै तापलहरबाट जोगिन आवश्यक सतकर्ता अपनाउन आग्रह गरेका छन्। उनले सरकारले लूको जोखिम रहेका तराईका जिल्लाहरुमा जोखिम न्युनिकरण गर्न सरकारले सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक तयारी रहेको बताए।
उनले तातो लहर ‘लू’ बाट बच्न दिउँसोको अत्यधिक गर्मीमा बाहिरका काम सकेसम्म नगरी बिहान वा साँझको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा सेवन गर्न र आवश्यक आराम गर्न सुझाव दिए। डा. अधिकारीले तापलहरको दीर्घकालीन प्रभाव आँखा र छालामा समेत पर्नसक्ने भएकाले उच्च तापक्रमका बेला घरबाहिर निस्कँदा आवश्यक सावधानी अपनाउन आग्रह गरे।
उनले बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू तापलहरको उच्च जोखिममा रहने भएकाले विशेष सतर्कता आवश्यक रहेको बताए। उनले तातो लहरको जोखिमबाट बच्न धूम्रपान तथा मद्यपानबाट टाढा रहन, शरीरमा पानीको मात्रा सन्तुलित राख्न र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मीसँग परामर्श लिन पनि आग्रह गरे।
‘लू’ भनेको के हो ?
तापलहर ‘लू’ भनेको लामो समयसम्म अत्यधिक गर्मी रहने अवस्था हो, जुन प्रायः उच्च आद्रतासँगै देखिन्छ । कुनै निश्चित क्षेत्रको सामान्य औसत तापक्रमभन्दा निकै माथि तापक्रम पुगेको अवस्थामा लू घोषणा गर्ने गरिन्छ ।
जलवायु परिवर्तनको कारण विश्वव्यापी तापक्रम वृद्धि भइरहेका कारण तापलहरको जोखिम बढ्दै गइरहेको छ । तापलहर ९लू०का केवल शरीरमा पानीको कमी (डिहाइड्रेसन) र हिटस्ट्रोको जोखिम हुने गर्दछ । हिट वेभले मुटुसम्बन्धी समस्याको जोखिम पनि बढाउन सक्ने विज्ञहरुको चेतावनी छ ।
लू लाग्नुका कारणहरू के के हुन् ?
जलवायु परिवर्तनको कारण विश्वव्यापी तापक्रम बढ्दै जाँदा लूको लाग्ने गरेको पाइएको छ । पछिल्लो समय अव्यवस्थित शहरीकरणका कारण पनि लूको जोखिम बढ्दै गएको छ । कंक्रीटका भवन र सडकहरूले ताप सोस्ने भएकाले शहरहरूमा लूको जोखिम अत्याधिक हुने गर्दछ । वन फँडानीका कारण प्राकृतिक चिसोपन घटेर समेत तातोलहर चल्छ ।
‘लू’ का लक्षणहरू
डिहाइड्रेसनः अत्यधिक तिर्खा लाग्नु, मुख सुक्नु, थकान महसुस हुनु
गर्मीजन्य थकानः रिंगटा लाग्नु, पसिना आउनु, कमजोरी महशुस हुनु
हिटस्ट्रोकः शरीरको तापक्रम अत्यधिक बढ्नु, अन्योल हुनु, बेहोस हुनु
मुटुमा दबाबः मुटुको धड्कन बढ्नु, छातीमा असहजता हुनु
‘लू’ लाग्नबाट बच्न के गर्ने ?
- दिउँसोको अत्यधिक गर्मी हुने समयमा बाहिर ननिस्कने
- हल्का र खुकुलो कपडा लगाउने
- चिसो वा छायायुक्त स्थानमा बस्ने
- सम्भव भए पंखा वा एयर कन्डिसनर प्रयोग गर्ने
- हल्का तथा पौष्टिक खाना खाने
- चिकित्सकको सल्लाहअनुसार औषधि नियमित सेवन गर्ने
- शरीरमा पानीको मात्रा पर्याप्त राख्ने
- रक्तचापको नियमित निगरानी गर्ने
- अत्यधिक शारीरिक श्रम नगर्ने
- गर्मी बढेको समयमा घरभित्र वा चिसो स्थानमा बस्ने
क्याटेगोरी : समाचार













प्रतिक्रिया