Techie IT
KTM Post
शुक्रबार, २९ जेठ, २०८३

अब च्याटजीपीटीमा ‘लकडाउन मोड’, कुन-कुन सुविधा बन्द हुन्छन्?


काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपनएआईले आफ्नो लोकप्रिय च्याटबोट च्याटजीपीटीमा ‘लकडाउन मोड’ नामक नयाँ सुरक्षा फिचर सार्वजनिक गरेको छ। प्रयोगकर्ताको संवेदनशील जानकारी सुरक्षित राख्न तथा प्रम्प्ट इन्जेक्सनजस्ता साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्न यो सुविधा ल्याइएको कम्पनीले जनाएको छ।

प्रम्प्ट इन्जेक्सन आक्रमणमार्फत वेबपेज वा अन्य अनलाइन सामग्रीमा लुकाइएका निर्देशन प्रयोग गरेर एआई प्रणालीलाई प्रभावित पार्ने र गोप्य सूचना निकाल्ने प्रयास हुने गर्छ। नयाँ लकडाउन मोडले यस्ता जोखिम कम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो मोड सक्रिय भएपछि च्याटजीपीटीका केही उन्नत सुविधाहरूमा भने प्रतिबन्ध लाग्नेछ। लाइभ वेब ब्राउजिङ सुविधा बन्द हुने र प्रयोगकर्ताले केवल पहिले नै सङ्ग्रहित (क्यास्ड) सामग्रीमा मात्र पहुँच पाउनेछन्। साथै वेबबाट तस्बिर खोज्ने, डीप रिसर्च गर्ने तथा एजेन्ट मोड प्रयोग गर्ने सुविधा पनि निष्क्रिय हुनेछ। यद्यपि, एआईको सहायताले नयाँ तस्बिर सिर्जना गर्ने सुविधा भने यथावत् रहनेछ।

ओपनएआईले लकडाउन मोडले सुरक्षाको स्तर उल्लेखनीय रूपमा बढाए पनि यसले सबै जोखिम पूर्ण रूपमा हटाउन नसक्ने स्पष्ट पारेको छ। कम्पनीका अनुसार क्यास्ड सामग्री वा प्रयोगकर्ताले अपलोड गरेका फाइलभित्र लुकेका हानिकारक निर्देशनहरूले अझै पनि एआईको व्यवहार प्रभावित पार्न सक्ने सम्भावना रहन्छ।

कम्पनीले यो सुविधा विशेषगरी उच्च सुरक्षा आवश्यक पर्ने व्यक्ति तथा संस्थालाई लक्षित गरेर विकास गरेको जनाएको छ। संवेदनशील डाटासँग काम गर्ने प्रयोगकर्ताका लागि उपयोगी मानिएको यो फिचर हाल च्याटजीपीटी बिजनेस खाताहरू तथा केही योग्य व्यक्तिगत खाताहरूमा क्रमिक रूपमा उपलब्ध गराउन थालिएको छ।


क्याटेगोरी : विज्ञान

प्रतिक्रिया


ताजा अपडेट