Techie IT
KTM Post
शुक्रबार, २९ जेठ, २०८३

५ लाख ३८ हजारले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक, साढे १ लाख प्रक्रियामा


काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानमा देशभरबाट उत्साहजनक सहभागिता भएको जनाएको छ । पार्टी केन्द्रीय कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अधिकांश क्रियाशील सदस्यहरूले अद्यावधिक प्रक्रियामा उल्लेखनीय सहभागिता जनाएका छन् ।

विज्ञप्तिअनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये बुधबार राति १२ बजेसम्म ५ लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत एनसी आईडी प्राप्त गरिसकेका छन् । त्यस्तै, १ लाख ४९ हजार ३०९ जनाले स्वयम् अद्यावधिक फारम पेस गरी वडा सभापतिमार्फत अद्यावधिक प्रक्रियामा रहेका छन् ।

पार्टीले इन्टरनेट पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला, विकट पहाडी भू–भाग, बारा र खोटाङ जिल्ला तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अद्यावधिक कार्यलाई थप व्यवस्थित गरिने जनाएको छ ।

नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्म खुला रहने पनि स्पष्ट गरेको छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट