कांग्रेसले माग्यो तीन प्रतिवेदन कार्यान्वयनको प्रगति विवरण
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न तीन वटा प्रतिवेदनको कार्यान्वयन अवस्थाबारे सरकारसँग प्रगति विवरण माग गरेको छ।
शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद भरतबहादुर खड्काले गत भदौ २३ गतेको घटनाबारे छानबिन भइसके पनि भदौ २४ गतेको घटनामा अझै छानबिन प्रक्रिया अघि नबढेको भन्दै प्रश्न उठाए।
उनले मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनको कार्यान्वयनबारे समेत सरकारसँग जवाफ माग गर्दै त्यसमा उल्लेख भएका नामहरू सार्वजनिक र कारबाही प्रक्रियामा किन नलागिएको भनेर प्रश्न गरे।
“कारागार जलाएर रुफटप गाडीमा हात हल्लाउँदै हिँड्नु भएका मान्यज्यूहरूलाई पनि आयोगको प्रतिवेदनले समेटेको छ,” भन्दै उनले प्रतिवेदनको कार्यान्वयन कहिले हुन्छ भन्ने प्रश्न गरे।
त्यस्तै, सरकारको सय बुँदे कार्यसूचीमा समावेश गरिएको भदौ २४ गतेको घटनाबारे छानबिन गर्न भनिएको आयोग कहिले गठन हुन्छ भन्नेबारे पनि उनले सरकारको ध्यानाकर्षण गराए।
साथै, गृहमन्त्रीसम्बन्धी सम्पत्ति र अन्य विषयमा छानबिनका लागि बनेको समितिले प्रतिवेदन बुझाइसकेको चर्चा भए पनि त्यो प्रतिवेदन सार्वजनिक नगरिएको उनले उल्लेख गरे। उनले प्रतिवेदन सार्वजनिक नगरी सम्बन्धित व्यक्तिलाई पुनः जिम्मेवारी दिइएको विषयमा पनि प्रश्न उठाए।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया