Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

रविको आह्वानमा आज बस्ने सर्वदलीय बैठकमा कांग्रेस सभापति गगन थापा नजाने


काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा आज बस्ने सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी नहुने भएका छन्।

कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सांसद सास फिर्दाेष आलम बैठकमा सहभागी हुने जनाइएको छ। सांसद आलमले सभापति थापा बैठकमा उपस्थित नहुने पुष्टि गरे पनि त्यसको कारण खुलाएका छैनन्।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सर्वदलीय बैठक बिहान ९ बजे सिंहदरबारस्थित संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको सभाहलमा बस्नेछ। बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई/दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।

पाँचदिने भारत भ्रमण सम्पन्न गरी जेठ २२ गते स्वदेश फर्किएका रास्वपा सभापति लामिछानेले पछिल्लो राजनीतिक गतिरोध समाधानका लागि बैठक आह्वान गरेका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको आशयको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदन अवरुद्ध गर्दै आएका छन्।

विपक्षी दलहरूको मागअनुसार प्रधानमन्त्री शाहले संसद्मा उपस्थित भएर माफी माग्नुपर्ने तथा उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने अडान कायम छ। माग पूरा नभएसम्म संसद् सञ्चालन हुन नदिने चेतावनी विपक्षी दलहरूले दिएका छन्।

यसैबीच, प्रतिनिधिसभाको बैठक आज बस्दै छ भने राष्ट्रियसभाको बैठक जेठ २६ गतेका लागि तय गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट