आज देशभर वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने
काठमाडौं । देशका अधिकांश क्षेत्रमा मनसुनी प्रणाली सक्रिय बन्दै गएको छ। हाल कोशी, मधेश र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी प्रदेशको अधिकांश क्षेत्र र लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी र लुम्बिनीका बाँकी क्षेत्रसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत भोलिसम्म मनसुन पूर्ण रूपमा फैलिने सम्भावना छ। अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ।
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहेको छ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
मौसमविद्हरूले आज दिनभर देशभर पूर्ण बदली रहने पूर्वानुमान गरेका छन्। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना छ भने पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी जिल्लाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। यस्तै, कोशी प्रदेशको तराई क्षेत्र र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले जनजीवन प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
आज राति पनि देशभर पूर्ण बदली रहने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन्।
पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै स्थानमा रातिको समयमा पनि मध्यम वर्षा जारी रहने अनुमान गरिएको छ। साथै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया