पूर्व प्रदेशसभा सदस्य अशोककुमार यादवमाथि प्रहरीमाथि आक्रमण घटनामा अनुसन्धान सुरु
सर्लाही । सर्लाहीको कविलासी नगरपालिकामा सवारी दुर्घटनापछि उत्पन्न विवादका क्रममा प्रहरीमाथि दुर्व्यवहार तथा आक्रमण भएको घटनामा पूर्वप्रदेशसभा सदस्य अशोककुमार यादवमाथि अनुसन्धान सुरु गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार यादवविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार उनी हाल सम्पर्कविहीन रहेका छन्।
घटना जेठ २५ गते राति भएको हो। यादवको स्वामित्वमा रहेको ट्याक्टरले पार्किङमा राखिएको ट्रकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरी टोलीले ट्याक्टर नियन्त्रणमा लिएर दुवै पक्षबीच छलफल गराउने प्रयास गरेको थियो।
सोही क्रममा घटनास्थलमा पुगेका यादव र उनीसँग आएका व्यक्तिहरूबीच विवाद चर्किँदा प्रहरीमाथि दुर्व्यवहार तथा आक्रमण भएको आरोप प्रहरीले लगाएको छ।
प्रहरीका अनुसार घटनाको क्रममा ट्याक्टर समेत लगिएको दाबी गरिएको छ। घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ परेकाहरू यादवका आफन्त रहेको प्रहरीले जनाएको छ।
२०७४ सालमा तत्कालीन मधेसी जनअधिकार फोरमबाट निर्वाचित भएका यादव हाल नेपाल कम्युनिस्ट पार्टीसँग आबद्ध रहेको बताइन्छ। घटनामा संलग्न मुख्य आरोपितमध्ये रहेका यादवको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया