पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
काठमाडौं । देशका विभिन्न भूभागमा बुधबार साँझदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस तथा कोशी प्रदेशका विभिन्न जिल्लामा मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका मौसमविद् रोजन लामिछाने का अनुसार वर्षा गराउने मौसमी प्रणाली क्रमशः पूर्वतर्फ सर्दै गएको छ। यससँगै मेघगर्जन, चट्याङ तथा वर्षाबाट उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
मौसमविद् लामिछानेका अनुसार हाल नेपालको मौसममा उपल्लो वायुमण्डलमा विकसित पश्चिमी न्यूनचापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यही कारण विभिन्न स्थानमा स्थानीय अवस्थाअनुसार बादल विकसित भई वर्षा भइरहेको छ।
काठमाडौं उपत्यकामा भने केही समयपछि मौसम क्रमिक रूपमा खुल्ने सम्भावना रहेको विभागको अनुमान छ। यद्यपि स्थानीय प्रभावका कारण कतिपय स्थानमा क्षणिक बदली र हल्का वर्षा हुन सक्ने सम्भावना कायमै रहेको जनाइएको छ।
आज रातिको मौसम पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ। त्यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा पनि आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ।
मधेस प्रदेश, लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, कोशी, बागमती र गण्डकीका तराई भूभाग तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली रहने विभागले जनाएको छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने सम्भावना छ।
विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै, उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावना पनि औँल्याइएको छ।
मौसमविद्हरूले विशेषगरी चट्याङ, हावाहुरी तथा वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।
क्याटेगोरी : समाचार












प्रतिक्रिया