Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

विश्वकप नि:शुल्क हेर्ने नाममा स्क्याम बढ्दै, अनधिकृत साइट र एप बन्द गर्ने तयारी


काठमाडौं । फिफा विश्वकप फुटबल नि:शुल्क हेर्ने भन्दै सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यममा फैलाइएका लिंकमार्फत सर्वसाधारण ठगीमा परेका घटना बढ्दै गएका छन्। यहीबीच सरकारले अनधिकृत वेबसाइट र मोबाइल एपहरू बन्द गर्ने तयारी अघि बढाएको छ।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोका अनुसार “नि:शुल्क विश्वकप हेर्न” भन्दै पठाइएका शंकास्पद लिंकमा क्लिक गर्दा ठगिएको भन्दै हालसम्म ७७ वटा उजुरी दर्ता भएका छन्। ती उजुरीमा करिब १ करोड ६८ लाख ३८ हजार ६८८ रुपैयाँ बराबरको आर्थिक क्षति भएको उल्लेख छ।

साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दिलिप गिरीले यस्ता लिंकहरू प्रायः ठगी उद्देश्यले प्रयोग भइरहेको र प्रयोगकर्ताको व्यक्तिगत तथा बैंकिङ विवरणसमेत जोखिममा पर्ने बताएका छन्।

यसैबीच, नेपालमा विश्वकप फुटबलको आधिकारिक प्रसारण अधिकार पाएको ‘एस प्रो मिडिया प्रालि’को अनुरोधपछि अनधिकृत प्लेटफर्महरू बन्द गर्ने प्रक्रिया अघि बढाइएको छ।

कम्पनीका अध्यक्ष सोम धितालले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेख्दै प्रतिलिपि अधिकार उल्लंघन गर्ने वेबसाइट र एपहरू रोक्न आग्रह गरेका थिए। सोही आधारमा मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई आवश्यक कारबाहीका लागि निर्देशन दिएको हो।

प्राधिकरणले इन्टरनेट तथा मोबाइल सेवा प्रदायकहरूसँग समन्वय गरी करिब तीन दर्जनभन्दा बढी अनधिकृत प्लेटफर्महरू बन्द गर्ने तयारी गरेको जनाएको छ।

आधिकारिक प्रसारण बाहेकका स्रोतबाट खेल हेर्ने प्रयास नगर्न र शंकास्पद लिंकमा क्लिक नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट