झलनाथ खनालद्वारा प्रचण्डलाई ‘लेटर बम’
काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था र पार्टी सञ्चालन शैलीप्रति गम्भीर असहमति जनाउँदै वरिष्ठ नेता झलनाथ खनालले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २४ पृष्ठ लामो सुझाव तथा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
खनालले पार्टीभित्र देखिएका वैचारिक तथा संगठनात्मक कमजोरी, कार्यकर्ता व्यवस्थापन र नेतृत्वको कार्यशैलीबारे प्रश्न उठाउँदै एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता भएको सात महिना बितिसक्दा पनि तल्लो तहसम्म एकीकरण हुन नसकेको उल्लेख गरेका छन् । स्थानीय तहदेखि जिल्ला र प्रदेश तहसम्म संगठनात्मक समायोजन अपूर्ण रहेको तथा कार्यकर्ताबीच अन्योल कायम रहेको उनको भनाइ छ ।
पत्रमा खनालले पार्टीका नेता तथा कार्यकर्तालाई जिम्मेवारी र भूमिका नदिइएको विषयलाई विशेष रूपमा उठाएका छन् । लामो समयदेखि सक्रिय रहेका नेता–कार्यकर्ताले उचित जिम्मेवारी नपाउँदा निराशा बढेको र त्यसले पार्टीभित्र असन्तुष्टि सिर्जना गरेको उनको भनाइ छ । यही कारण पार्टी पंक्तिमा पलायनको प्रवृत्ति बढ्दै गएको र संगठन कमजोर बन्दै गएको चेतावनी पनि उनले दिएका छन् ।
खनालले वर्तमान राजनीतिक परिस्थितिअनुसार पार्टीले नयाँ कार्यदिशा, स्पष्ट रणनीति र प्रभावकारी संगठनात्मक योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । नेतृत्वले समयको मागअनुसार पहल नगरे पार्टीको जनाधार थप खुम्चिने र संगठनात्मक संकट गहिरिने जोखिम रहेको उनको निष्कर्ष छ ।
स्रोतका अनुसार खनालले बुझाएको २४ पृष्ठको पत्रमा पार्टी पुनर्गठन, कार्यकर्ता परिचालन, संगठन सुदृढीकरण, वैचारिक स्पष्टता तथा नेतृत्वको कार्यशैली सुधारसँग सम्बन्धित विभिन्न सुझाव समेटिएका छन् ।
पार्टीभित्र बढ्दो असन्तुष्टिका बीच आएको यो पत्रलाई आगामी दिनमा पार्टीको दिशा, नेतृत्वको कार्यशैली र संगठनात्मक भविष्यबारे हुने बहससँग जोडेर हेरिएको छ ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया