Techie IT
KTM Post
शुक्रबार, २९ जेठ, २०८३

अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन गर्न समिति गठन


काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका विषयमा कर्मचारीको संलग्नताका सम्बन्धमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । अध्ययन भिसा सिफारिसका सम्बन्धमा पेस गरिएका पत्र तथा कागजात नक्कली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न मन्त्रीस्तरीय निर्णयअनुसार समिति गठन गरिएको जनाइएको छ ।

मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिका सदस्यमा मन्त्रालयकै  उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई सदस्य रहेका छन्। समितिलाई घटनासँग सम्बन्धित कर्मचारीहरूको भूमिका, जिम्मेवारी तथा प्रक्रियागत अवस्थाबारे अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

छानबिनका क्रममा अध्ययन भिसा सिफारिस प्रक्रियामा कर्मचारीहरूको संलग्नता, कागजात प्रमाणीकरणको अवस्था तथा प्रणालीगत कमजोरीहरूको समेत अध्ययन गरिने बताइएको छ।

मन्त्रालयका अनुसार वाल्मिकी विद्यापीठको नाममा अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा अन्य कागजातहरू नक्कली रहेको प्रारम्भिक रूपमा देखिएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। यससँगै ती कागजातका आधारमा सिफारिस गरिएका विदेशी नागरिकहरूको भिसासम्बन्धी थप प्रक्रिया तत्काल अगाडि नबढाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।

यसअघि पनि अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका उठेपछि मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो।

अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग प्रत्यक्ष रूपमा जोडिएको यस घटनालाई मन्त्रालयले गम्भीर रूपमा लिएको जनाएको छ। छानबिन समितिको प्रतिवेदनका आधारमा आवश्यक प्रशासनिक तथा कानुनी कारबाही अघि बढाइने मन्त्रालयको भनाइ छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट