Techie IT
KTM Post
शुक्रबार, २९ जेठ, २०८३

फिफा विश्वकप २०२६: उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत, दक्षिण अफ्रिका पराजित


काठमाडौं। घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ मा सुखद् सुरुआत गरेको छ।

मेक्सिको सिटी रङ्गशालामा सम्पन्न रोमाञ्चक उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० को गोलअन्तरले पाखा लगाएको हो। घरेलु दर्शकको बलियो साथ पाएको मेक्सिकोलाई जिताउन जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोलको योगदान दिए।

खेलको सुरुवाती क्षणदेखि नै आक्रामक रणनीति अपनाएको मेक्सिकोले नवौँ मिनेटमा नै अग्रता बनाएको थियो। इरिक लिराले मिलाइदिएको उत्कृष्ट पासलाई सदुपयोग गर्दै जुलियन क्विनोनेसले टोलीका लागि पहिलो गोल गरेका थिए।

पहिलो हाफमा एक गोलले पछि परेको दक्षिण अफ्रिका दोस्रो हाफको सुरुवातमै थप संकटमा पर्यो। खेलको ४९औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले रातो कार्ड पाउँदै मैदान छाड्नु परेपछि पाहुना टोली १० खेलाडीमा सीमित हुन पुग्यो।

त्यसकै फाइदा उठाउँदै खेलको ६७औँ मिनेटमा राउल जिमेनेजले अर्को गोल थपेर मेक्सिकोको अग्रतालाई दोब्बर बनाए। खेलको अन्तिम समयतिर मैदान झनै तनावपूर्ण बन्न पुग्यो।

८४औँ मिनेटमा दक्षिण अफ्रिकाका अर्का खेलाडी थेम्बा ज्वानेले पनि रातो कार्ड पाएपछि टोली ९ खेलाडीमा खुम्चियो। लगत्तै दोस्रो हाफको थप गरिएको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले समेत रातो कार्ड सामना गर्दै मैदानबाट बाहिरिए।

विश्वकपको इतिहासमै उद्घाटन खेलमा तीन जना खेलाडीले रातो कार्ड पाएको यो खेलबाट मेक्सिकोले स्पष्ट ३ अङ्क जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा आफूलाई उभ्याएको छ। यसै समूह अन्तर्गतको अर्को खेलमा आजै बिहान ७ः४५ बजे चेक रिपब्लिक र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुँदैछ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट