रास्वपा बागमतीको रोकिएको अधिवेशन शनिबार, मतदान विद्युतीय मेसिनबाट हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको विवादका कारण स्थगित भएको अधिवेशन यही जेठ ३० गते पुनः सञ्चालन हुने भएको छ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले बिहीबार सूचना जारी गर्दै जेठ २७ गते रोकिएको निर्वाचन प्रक्रिया जेठ ३० गते काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबार (शंखपार्क) मा सञ्चालन गरिने जनाएको हो।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाता नामावली प्रमाणीकरण, समायोजन सूची व्यवस्थापन, प्राविधिक परीक्षण तथा अन्य आवश्यक तयारी पूरा भइसकेकाले निर्धारित मितिमा निर्वाचन सम्पन्न गरिनेछ। मतदान बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ।
निर्वाचन आयोगले यसपटक मतदान पूर्ण रूपमा विद्युतीय मतदान मेसिन (ईभीएम) मार्फत गरिने जनाएको छ। मतदानमा सहभागी हुन प्रतिनिधिहरूले पार्टीले उपलब्ध गराएको आधिकारिक फोटोसहितको परिचयपत्र र लेभी बुझाएको प्रमाण साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ।
रास्वपाको बागमती प्रदेश अधिवेशनको उद्घाटन हेटौंडामा भएको थियो। तर मतदान प्रक्रिया सुरु गर्ने क्रममा विभिन्न प्राविधिक तथा व्यवस्थापकीय विवाद देखिएपछि निर्वाचन स्थगित गरिएको थियो।
निर्वाचन आयोगका अनुसार मतपत्रमा देखिएका त्रुटि सच्याउन, मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न तथा करिब ४०० जनाको समायोजन सूचीसँग सम्बन्धित उजुरी र विवाद सम्बोधन गर्न निर्वाचन प्रक्रिया रोकिएको थियो।
त्यस्तै प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप्ने तथा निर्वाचनलाई थप व्यवस्थित र सहज बनाउने उद्देश्यले पनि मतदान स्थगित गरिएको आयोगले जनाएको थियो।
आयोगले त्यसबेला भ्रमपूर्ण सूचना र हल्लाको पछि नलागी आधिकारिक सूचनाको प्रतीक्षा गर्न प्रतिनिधि तथा उम्मेदवारहरूलाई आग्रह गरेको थियो।
बागमती प्रदेश सभापति पदका लागि निवर्तमान सभापति अच्युतम लामिछाने, उत्सव अर्याल, हरिबहादुर खत्री र कृष्णमान शाक्य चुनावी मैदानमा छन्। प्रदेश नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धालाई रास्वपाभित्र चासोका साथ हेरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया